रामेछाप, माघ २४ । प्रेस चौतारी नेपाल, वाग्मती प्रदेश समितिका सचिव तथा सक्रिय पत्रकार नवराज श्रेष्ठ ‘प्रेस चौतारी रामेछाप विशेष पत्रकारिता पुरस्कार–२०८२’बाट सम्मानित हुनुभएको छ।
प्रेस चौतारी नेपालको २८औँ स्थापना दिवसका अवसरमा शनिबार सदरमुकाम मन्थलीमा आयोजित समारोहबीच श्रेष्ठलाई लामो समयदेखि पत्रकारितामार्फत पुर्याउनुभएको योगदानको कदर गर्दै प्रमाणपत्र र नगदसहित सम्मान गरिएको हो।
कार्यक्रममा प्रदेशसभा सदस्य आनन्द श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। त्यस्तै, प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामा विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नेकपा (एमाले) रामेछापका जिल्ला अध्यक्ष पुरुषोत्तम कडरिया, मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक लगायत विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
समारोहमा वक्ताहरूले पत्रकार श्रेष्ठले जिल्लामा विश्वसनीय सूचना प्रवाह, जनचेतना अभिवृद्धि तथा पेशागत मर्यादा कायम राख्दै निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गर्नु भएकाे थियाे। उहाँको सक्रियता र निरन्तरताले स्थानीय पत्रकारितालाई सशक्त बनाउन योगदान पुगेको उहाँहरूको भनाइ थियो।
श्रेष्ठ विगत लामो समयदेखि रामेछापका विभिन्न सञ्चारमाध्यममार्फत पत्रकारितामा सक्रिय रहँदै आउनुभएको छ।













प्रतिक्रिया दिनुहोस्