रामेछाप, माघ २६ । नेकपा एमाले रामेछापबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधव ढुङ्गेलले चुनावी अभियानलाई तीव्रता दिनुभएको छ। जिल्लाभर घरदैलो, भेटघाट र अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिँदै उहाँ मतदातासँग प्रत्यक्ष संवादमा जुट्नुभएको हो।
उमाकुण्ड, गोकुलगंगा, लिखु तामाकोसी, दोरम्बा शैलुङ, सुनापति र खाँडादेवी गाउँपालिका तथा मन्थली नगरपालिकाका विभिन्न वडामा कार्यक्रम सम्पन्न गरिसक्नुभएका ढुङ्गेल हाल रामेछाप नगरपालिकाका वडाहरूमा केन्द्रित हुनुभएको छ।

सोही क्रममा सोमबार वडा नं. १ गोठपानी, वडा नं. २ देउरालीको चामबोट, देउरालीडाँडा, हुलाकचौर, स्वामिबोट लगायतका स्थानमा उहाँले मतदातासँग भेटघाट तथा छलफल गर्नुभयो। यस्तै वडा नं. ३ को विश्वकर्मा टोल, थाक्ले, बाँकीमेरी र साँघुटार बजार क्षेत्रमा पनि घरदैलो तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
भेटघाटका क्रममा स्थानीय मतदाताहरूले देश निर्माणको जिम्मेवारी एमालेले मात्रै वहन गर्न सक्ने विश्वास व्यक्त गर्दै यस पटक पनि एमालेका उम्मेदवारलाई मतदान गर्ने प्रतिबद्धता जनाएका छन्। केही मतदाताले आफ्ना आफन्त तथा छिमेकीलाई समेत एमालेका पक्षमा मतदान गर्न आग्रह गर्ने बताएका छन्।
स्थानीयवासीले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीसँग सम्बन्धित समस्याहरूबारे जानकारी गराउँदै समाधानका लागि पहल गर्न अनुरोध गरेका छन्।
उम्मेदवार ढुङ्गेलले आफू निर्वाचित भएपछि रामेछापवासीको शिर नझुक्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “जनताको विश्वास नै मेरो शक्ति हो, म त्यो विश्वासलाई परिणाममा बदल्नेछु,” उहाँले भन्नुभयो।

घरदैलो टोलीमा उम्मेदवार ढुङ्गेलसहित पार्टी केन्द्रीय सदस्य गीता कार्की, वाग्मती प्रदेशका पूर्वमन्त्री शान्तिप्रसाद पौडेल, वाग्मती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति एवं प्रदेश कमिटी सदस्य आनन्द श्रेष्ठ, प्रदेश कमिटी सदस्य प्रेम तामाङलगायत प्रदेशस्तरीय नेताहरू सहभागी हुनुहुन्छ।

यसैगरी जिल्ला अध्यक्ष पुरुषोत्तम कडरिया, उपाध्यक्ष होतराज ढकाल लगायत जिल्लाका नेताहरू, नगर कमिटी अध्यक्ष रोशन पाख्रिन, सचिव माधव ढकाल, अनेरास्ववियु केन्द्रीय सदस्य पुष्कर भट्टराईलगायत विभिन्न तहका नेता तथा जनसंगठनका प्रतिनिधिहरूको समेत सक्रिय सहभागिता रहेको छ।
मतदाताको उत्साहजनक सहभागिता र समर्थनले एमाले पार्टी र उम्मेदवारलाई थप ऊर्जा मिलेको अभियान टोलीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्