काठमाडौं, माघ २८। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालिरहनुभएकी प्रधानमन्त्री सुशीला कार्कीले आज बस्ने राष्ट्रियसभाको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्नुहुने भएको छ।
सङ्घीय संसद् सचिवालयले आज अपराह्न १ः१५ बजेका लागि निर्धारण गरेको बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री कार्कीले उक्त विधेयक छलफलका लागि प्रस्ताव गर्नुका साथै पारित गरियोस् भन्ने प्रस्तावसमेत सभासमक्ष प्रस्तुत गर्नुहुनेछ।
यसैबीच, आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनुहुने कार्यसूची रहेको छ।
बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘विधायन व्यवस्थापन समितिको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन’ पेस गर्नुहुनेछ।
त्यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन व्यवस्थापन समितिको अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।













प्रतिक्रिया दिनुहोस्