जनता टाइम्स

१९ मंसिर २०७६, बिहीबार १८:४९

प्रधानमन्त्री ओलीले यी सर्त मानेपछि पठाइयो निवास


काठमाडौं, मंसिर १९ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्शकले ससर्त डिस्चार्ज गरेका छन । एपेन्डिसाइटिसको शल्यक्रियाको भोलिपल्टैबाट निवास फर्कन जोर गर्दै आउनु भएका प्रधानमन्त्री ओलीलाई निवासमा पनि यी सर्त पालना गर्ने प्रतिवद्धतापछि आज दिउँसो डिस्चार्ज गरिएको हो ।

चिकित्सकले प्रधानमन्त्री ओलीलाई निवासमा आराम गर्ने र अझै केही दिन आरा मगर्ने सर्तनामा गराएका हुन । प्रधानमन्त्री ओलीले चार पाँच् दिनयता आफूलाई मिलेमतोमा अस्पतालमा राखिएको भन्दै चाँडो डिष्चार्ज दिन चिकित्स्कलाई आग्रह गर्दै आउनु भएको थियो । बिगतमा जसरी नै बालुवाटार फर्कनसाथ कामको धपेडी बढाउने हो भने अझै अस्पतालमै राख्ने चिकित्सकको अडानपछि प्रधानमन्त्री ओलीले जरुरी काम गर्ने तर धपेडी नगर्ने बताउनु भएपछि चिकित्सकले उहाँलाई आज निवास पठाएको हो । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले बिज्ञप्तीमा पनि प्रधानमन्त्री ओलीलाई बिगतमा जसरी निवास फर्कनसाथ दौडधुप नगर्न सुझाइएको उल्लेख छ ।

‘मंसिर १० गते मंगलवार शल्यक्रिया पश्चात यस सेन्टरमा उपचाररत रहनुभएकोमा उपचारमा संलग्न चिकित्सकहरुका अनुसार हाल सम्माननीयज्यूको स्वास्थ्यलाभ भएकोले केही दिन आराम गर्ने सुझावसहित उहाँलाई आज अस्पतालबाट डिस्चार्ज गरिएको छ,’ त्रिबि चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तम कृष्ण श्रैष्ठले बिज्ञप्ती जारी गर्दै भन्नुभएको छ ।

प्रधानमन्त्री ओली यही सर्त मानेर स्वास्थ्य उपचारपछि बालुवाटार फर्कनु भएको छ । एपेन्टिसाइटिसको शल्यक्रियापछि १० दिन अस्पतालमा बसेर उहाँ बालुवाटार फर्कनु भएको हो । आज दिउँसो साढे तीन बजेपछि प्रधानमन्त्री ओली महाराजगञ्जस्थित महमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज हुनु भएको हो । खैरो पेन्ट, सुन्तला रंगको ज्याकेट र कालो भादगाउले टोपी लगाएर उही पुरानै शैलीमा मन्द मुस्कानसहित उहाँ अस्पतालबाट बाहिरिनु भएको थियो ।

उच्च मनोवलबाटै रोगलाई हराउदै आउनु भएका प्रधानमन्त्री ओलीले अस्पतालबाट बाहिरिदै गर्दा संक्षिप्त प्रतिक्रिया पनि दिनुभयो । प्रधानमन्त्री ओलीले डिस्चार्जका क्रममा छोटो प्रतिक्रिया दिँदै स्वास्थ्यमा सुधार भएर घर जान लागेको बताउनु भयो । ‘म स्वास्थ्यमा सुधार भएर घर जाँदैछु,’ उहाले भन्नुभयो ।