जनता टाइम्स

१ फाल्गुन २०८२, शुक्रबार १८:०७

ओखलढुंगामा जसपा र नेकपाका नेता–कार्यकर्ता एमालेमा प्रवेश


ओखलढुंगा, फागुन १। प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा जनता समाजवादी पार्टी नेपाल र नेकपाका स्थानीय नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।

जिल्लामा नेकपा र जसपाबीच चुनावी तालमेल रहे पनि सो पार्टीको प्रभावक्षेत्र मानिने खिजिदेम्बाका वडाध्यक्ष उम्मेदवारसमेत रहनुभएका जिल्ला समिति सदस्य वोङ्छे शेर्पा समर्थकहरूसहित एमालेमा समाहित हुनुभएको हो। उहाँ २०७९ सालको स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी नेपालबाट खिजिदेम्बा गाउँपालिका–८ मा वडाध्यक्ष पदका उम्मेदवार बन्नुभएकाे थियाे ।

एमालेको चुनावी घरदैलो अभियानका क्रममा शेर्पासँगै नेकपाका पुराना नेता डिबी परियारसमेत एमालेमा प्रवेश गर्नुभएको हो।

चुनावी अभियानका क्रममा भुसिङ्गा पुग्नुभएका एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवार तथा प्रतिनिधि सभा सदस्यका लागि एमाले उम्मेदवार अस्मिता थापालगायत नेताहरूले नवप्रवेशी नेताहरुलाई स्वागत गर्नुभएको थियो।

केन्द्रीय सदस्य सुनुवारले प्रवेश गर्ने नेताहरूलाई उचित जिम्मेवारीसहित काममा लगाइएको बताउनुभयो। उहाँका अनुसार शेर्पालाई निर्वाचन परिचालनको जिम्मेवारीसमेत दिइएको छ।

नवप्रवेशी नेता शेर्पाले एमालेले समयको मागअनुसार युवा महिला उम्मेदवारका रूपमा अस्मिता थापालाई अघि सारेकाले वर्तमान अवस्थामा उहाँ नै उपयुक्त प्रतिनिधि हुने विश्वासका साथ आफूहरूले एमालेमा समाहित भई जिताउने निर्णय लिएको बताउनुभयो।