इलाम, फागुन २। नेपाल कम्युनिष्ट पार्टी (एमाले) इलाम क्षेत्र नम्बर २ क्षेत्रीय समन्वय समिति सचिवालयको बैठक जिल्ला पार्टी कार्यालयमा सम्पन्न भएको छ। बैठकमा आगामी निर्वाचनलाई लक्षित गर्दै व्यापक छलफल, योजनानिर्माण तथा महत्वपूर्ण निर्णय गरिएको जनाइएको छ।
बैठक क्षेत्रीय समन्वय समिति संयोजक दिलु योङहाङ लावतीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज राम रानाको प्रमुख आतिथ्यता रहेको थियो।
त्यसैगरी प्रदेश कमिटी सचिवालय सदस्य जयप्रकाश राई, प्रदेश कमिटी सदस्य केशव धौराली, पूर्व केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार तारा गुरुङ, पूर्व केन्द्रीय सल्लाहकार परिषद् सदस्य अगम बान्तवा, नरेन्द्रनाथ भट्टराई, जिल्ला कमिटी अध्यक्ष गणेश बराल, निवर्तमान अध्यक्ष महेश बस्नेत तथा जिल्ला कमिटी सचिव रवीन्द्र सुवेदीलगायत नेताहरूको आतिथ्यता रहेको थियो।
बैठकमा क्षेत्र नम्बर २ अन्तर्गतका संगठन सुदृढीकरण, मतदाता सम्पर्क अभियान, टोल–टोलमा पार्टी कार्यक्रम विस्तार, तथा निर्वाचन केन्द्रित गतिविधिलाई व्यवस्थित बनाउने विषयमा विस्तृत छलफल भएको छ।
नेतृत्व तहबाट आगामी निर्वाचनलाई संगठनात्मक एकता, सक्रिय परिचालन र जनविश्वास सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखिएको थियो। स्थानीय तहदेखि वडा स्तरसम्म कार्यकर्तालाई सक्रिय बनाउने, जनतासँग प्रत्यक्ष संवाद बढाउने तथा पार्टीका एजेन्डालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा रणनीति तय गरिएको बताइएको छ।
बैठकले चुनाव लक्षित कार्ययोजना निर्माण गर्दै त्यसको कार्यान्वयनका लागि जिम्मेवारी बाँडफाँटसमेत गरेको जनाएको छ। साथै, संगठनलाई चलायमान र परिणाममुखी बनाउने गरी चरणबद्ध कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ।
एमालेले इलाम–२ मा आफ्नो संगठनात्मक आधार बलियो रहेको दाबी गर्दै आगामी निर्वाचनमा विजय सुनिश्चित गर्ने लक्ष्यसहित तयारीलाई तीव्रता दिएको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्