काठमाडौं, फागुन ३ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महाशिवरात्रि पर्व तथा सेना दिवस २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा हिन्दू धर्मावलम्बीहरूको महान पर्व महाशिवरात्रिले धार्मिक श्रद्धा, सामाजिक एकता र सांस्कृतिक गौरवलाई थप सुदृढ बनाउँदै आएको उल्लेख गर्नुभएको छ। यस दिन देशभरका शिवालय तथा मन्दिरहरूमा पूजाअर्चना, भजन–कीर्तन, मौलिक नाचगान तथा मेलाहरू आयोजना हुने परम्पराले नेपाली संस्कृतिलाई जीवन्त राख्नुका साथै पर्यटन प्रवर्द्धन र अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको उहाँले बताउनुभएको छ।
उपराष्ट्रपति यादवले शिव उपासना, उपवास र ध्यानले आत्म–शुद्धि, नैतिकता तथा आध्यात्मिक उन्नतिलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्दै यस पर्वले समाजमा सद्भाव, सहयोग र मेलमिलापको वातावरण सिर्जना गर्ने बताउनुभएको छ। उहाँले काम, क्रोध, लोभ, मोह र अहंकार त्यागी सत्य, धर्म, शान्ति र प्रेमको मार्गमा अग्रसर हुन सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ।
यसै दिन मनाइने सेना दिवसका सन्दर्भमा उहाँले नेपाली सेनाको साहस, समर्पण र अनुशासनलाई स्मरण गर्ने महत्वपूर्ण अवसरका रूपमा उल्लेख गर्नुभएको छ। राष्ट्रको सुरक्षा, सार्वभौमिकता र राष्ट्रिय सम्मानको रक्षा गर्नुका साथै विपद्को घडीमा अग्रपंक्तिमा रहेर सेवा पुर्याउने वीर सैनिक जवानहरूप्रति उहाँले गर्व व्यक्त गर्नुभएको छ।
उहाँले वर्तमान समयको आवश्यकता अनुसार अत्याधुनिक प्रविधि, दक्षता र अनुसन्धानमा निपुण, सक्षम र पेशागत नेपाली सेना निर्माण गर्नु राष्ट्रिय आवश्यकता भएको औंल्याउँदै सेनाको सबलीकरण र आधुनिकीकरणमा सबैको ध्यान केन्द्रित हुनुपर्ने धारणा राख्नुभएको छ। राष्ट्रिय हित सुदृढ बनाउन राज्य र नागरिकबीचको सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ छ।
सन्देशमा उपराष्ट्रपति यादवले महाशिवरात्रि पर्वले धार्मिक आस्था र आध्यात्मिक चेतनालाई अझ गहिरो बनाउँदै समाजमा शान्ति, सद्भाव र एकताको वातावरण सृजना गरोस् तथा सेना दिवसले वीरता, अनुशासन र राष्ट्रप्रेमलाई थप सबल बनाओस् भन्ने शुभेच्छा व्यक्त गर्दै पुनः सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्