जनता टाइम्स

३ फाल्गुन २०८२, आईतवार १०:२९

रौतहटमा मोटरसाइकल दुर्घटना : दम्पतिकाे मृत्यु


रौतहट, फागुन ३ । रौतहटमा आज बिहान मोटरसाइकल दुर्घटनामा परेका दम्पतिले ज्यान गुमाएका छन्। दुर्घटना दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गंगापिपरा सडकखण्ड अन्तर्गत झाझपुल नजिकै बिहान करिब साढे पाँच बजेको समयमा भएको हो।

गंगापिपराबाट गौरतर्फ आउँदै गरेको भारतीय बीआर ३० यु १३७१ नम्बरको मोटरसाइकल करिब ५० मिटर तल सिसौको रुखमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

मोटरसाइकल चालक, यमुनामाई गाउँपालिका–४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र २१ वर्षीया उहाँकी श्रीमती गम्भीर घाइते भएका थिए। दुवैजनालाई टाउको, मुख र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र अचेत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

दुवैलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो, जहाँ उपचारकै क्रममा उनीहरुको मृत्यु भएको पुष्टि गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।