रामेछाप, फागुन ४ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रामेछापमा चुनावी सरगर्मी तीव्र बनेको छ। निर्वाचन हुन १८ दिन मात्र बाँकी रहँदा उम्मेदवारहरू घरदैलो, भेटघाट, कोणसभा र प्रचार–प्रसारमा सक्रिय देखिएका छन्।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा कुल १ लाख ८७ हजार ९५२ जना मतदाता रहेका छन्। यस क्षेत्रमा १७ जना उम्मेदवार चुनावी मैदानमा छन्, जसमध्ये ३ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) रामेछापले आफ्नो चुनावी प्रचार अभियानको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीका अनुसार प्रतिनिधिसभा सदस्य उम्मेदवार माधवप्रसाद ढुंगेलसहितको टोलीको कार्यक्रम सार्वजनिक गरिएको हो। टाेलीमा पार्टीका वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुंगेल लगायत प्रदेश कमिटिका नेताहरु, जिल्ला कमिटी तथा पालिका कमिटी र जनसंगठनका नेताहरु समेत सहभागि हुनुहुन्छ ।
चुनावी प्रचार अभियान आजबाट लिखुतामाकोशी गाउँपालिकाबाट सुरु गरिएको छ। आज वडा नं १ देखि ५ सम्म उम्मेदवार ढुंगेलको घरदैलो, भेटघाट तथा कोणसभा कार्यक्रम सञ्चालन हुने जनाइएको छ।
फागुन ५ गते मंगलबार लिखुतामाकोशी गाउँपालिका वडा नं १, उमाकुण्ड गाउँपालिका वडा नं ६ र ७ मा कार्यक्रम तय गरिएको छ। त्यसैगरी फागुन ६ गते बुधबार गोकुलगंगा गाउँपालिका वडा नं ३ देखि ५ सम्म चुनावी अभियान सञ्चालन गरिनेछ।

फागुन ७ गते बिहीबार लिखुतामाकोशी गाउँपालिका वडा नं ६ र ७ तथा मन्थली नगरपालिका वडा नं ८ र ९ मा कार्यक्रम हुनेछ। फागुन ८ गते शुक्रबार मन्थली नगरपालिका वडा नं ९ को बाहुनचुरादेखि वडा नं १०, १२, १३ र १४ सम्म उम्मेदवार ढुंगेलसहित एमालेको टोली पुग्नेछ।
फागुन ११ गते सोमबार दोरम्बा शैलुङ गाउँपालिका वडा नं २, ३ र ६ मा कार्यक्रम सञ्चालन हुनेछ। फागुन १२ गते मंगलबार खाँडादेवी गाउँपालिका वडा नं ६, ८ र ९ मा चुनावी भेटघाट गरिनेछ।
फागुन १३ गते बुधबार मन्थली नगरपालिका वडा नं २, ३ र ७ मा तथा फागुन १४ गते बिहीबार खाँडादेवी गाउँपालिका वडा नं २, ४, ५ र ७ मा कार्यक्रम तय गरिएको छ।

त्यसैगरी फागुन १५ गते शुक्रबार रामेछाप नगरपालिका वडा नं ६, ७ र ८ मा चुनावी प्रचार गरिनेछ भने फागुन १६ गते शनिबार रामेछाप नगरपालिका वडा नं ९ साथै मन्थली नगरपालिका वडा नं १ र ६ मा घरदैलो तथा भेटघाट कार्यक्रम सञ्चालन हुनेछ।
कार्यतालिकाअनुसार फागुन १७ गते आइतबार खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीमा सभा तथा भेटघाट कार्यक्रम आयोजना गरिनेछ। फागुन १८ गते सोमबार अन्तिम चुनावी सभा गर्ने तयारी एमालेले गरेको छ। त्यसपछि तीन दिन मौन अवधि रहनेछ।
एमालेले यसअघि पहिलो चरणको भेटघाट तथा मतदातासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ। अब सार्वजनिक गरिएको तालिकाअनुसार दोस्रो चरणको सघन प्रचार अभियान अघि बढाइने पार्टीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्