दोलखा, फागुन ५ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता बालकृष्ण सिवाकोटीले एमाले दोलखाका उम्मेदवार पार्वत गुरुङको जित नै समग्र दोलखाको जित हुने बताउनुभएको छ।
कालिञ्चोक गाउँपालिका–लापिलाङमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै नेता शिवाकोटीले पार्वत गुरुङलाई जिताउन सम्पूर्ण नेता–कार्यकर्तालाई सक्रिय हुन आग्रह गर्नुभयो। पार्टीको आधिकारिक उम्मेदवार पार्वत गुरुङ रहेको उल्लेख गर्दै उहाँले जित सुनिश्चित गर्न आफूले कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो।
उहाँले वर्तमान राजनीतिक अवस्थालाई उल्लेख गर्दै एमालेको जित आवश्यक रहेको दाबी गर्नुभयो। ‘अहिलेको अवस्थामा नेकपा एमालेलाई जिताउन सकिएन भने मुलुक रहन्छ कि रहँदैन भन्ने अवस्था छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले खुलेर सूर्य चिन्हमा मतदान गर्न म सम्पूर्ण मतदातालाई आग्रह गर्दछु।’
गत निर्वाचनमा आफूले कालिञ्चाेक गाउँपालिकाबाट पाएको मतप्रति आभार व्यक्त गर्दै सिवाकोटीले यस पटक पार्वत गुरुङलाई जिल्लाका पालिकामध्ये सबैभन्दा धेरै मत दिएर विजयी बनाउन आ–आफ्नो क्षेत्रमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो। ‘नेकपा एमालेका कार्यकर्ता सिपाहीजस्तै अनुशासित र इमानदार हुन्छन्,’ उहाँले भन्नुभयो, ‘इमानदारिताका साथ काम गर्दै उम्मेदवारलाई जिताउन सबै एकजुट हुनुपर्छ।’

दोलखाको समग्र विकासका लागि पार्वत गुरुङको जित अपरिहार्य रहेको दाबी गर्दै सिवाकोटीले एमालेले जिल्लामा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने दीर्घकालीन योजनाहरू अघि बढाएको र ती योजना पूरा गर्न पनि एमालेको जित आवश्यक रहेको बताउनुभयो।
२०७९ सालको निर्वाचन स्मरण गर्दै उहाँले आम मतदाताको साथ हुँदाहुँदै पनि केही प्राविधिक कारणले आफू पराजित भएको उल्लेख गर्नुभयो। आगामी निर्वाचनमा त्यस्ता कमजोरी दोहोरिन नदिन कार्यकर्ताहरूलाई सचेत र सक्रिय रहन आग्रह गर्नुभयो।
आफ्नै गाउँपालिकामा आयोजित भेलामा सम्बोधन गर्दै सिवाकोटीले पार्टी उम्मेदवारलाई जिताउन आफू अभियानमा सक्रिय रूपमा लागेको उद्घोष गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्