जनता टाइम्स

५ फाल्गुन २०८२, मंगलवार २०:३५

इलामको माङ्सेबुङ गाउँपालिका उपाध्यक्ष र माइजोगमाईका वडाध्यक्ष एमालेमा प्रवेश


इलाम, फागुन ५ । प्रतिनिधिसभा निर्वाचनको माहौल तातेका बेला इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोदकुमार नेम्वाङ नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।

जसपा नेपालका केन्द्रीय सदस्यसमेत रहनुभएका नेम्वाङ २०७९ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो। उहाँ मंगलबार आयोजित कार्यक्रममा औपचारिक रूपमा एमाले प्रवेश गर्नुभएको हो।

कार्यक्रम एमालेका उम्मेदवार सुहाङ नेम्वाङको चुनावी अभियानका क्रममा आयोजना गरिएको थियो। कार्यक्रममा बोल्दै उपाध्यक्ष विनोदकुमारले देशभक्त शक्तिलाई सुदृढ बनाउन आफू एमालेमा समाहित भएको बताउनुभयो।

यसअघि सोमबार मात्र माइजोगमाई गाउँपालिका–३ का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष राम घिमिरे पनि एमालेमा प्रवेश गर्नुभएको थियो। निर्वाचनको मुखैमा भइरहेका यी प्रवेश घटनालाई इलामको राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।