काठमाडौं, फागुन ७ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै वर्तमान सन्दर्भमा तीन महत्वपूर्ण जिम्मेवारीबोध आवश्यक रहेको बताउनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै ‘आजको दिनले हामीलाई तीन महत्वपूर्ण जिम्मेवारी स्मरण गराउँछ’ भन्दै पहिलो, राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रको गरिमा जोगाउनुपर्ने, दोस्रो, संविधानको संरक्षण गर्दै जनताका लोकतान्त्रिक अधिकार र मूल्यलाई जीवन्त राख्नुपर्ने र तेस्रो, विभिन्न विध्वंसबाट क्षतविक्षत बनेका राष्ट्रका धरोहर, समृद्ध मानवीय संस्कृति, उद्योग तथा पूर्वाधारको पुनर्निर्माण गर्दै नागरिकको सुरक्षा सुनिश्चित गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।
उहाँले प्रजातन्त्र दिवस जनताको साहस, त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी ल्याएको ऐतिहासिक दिन भएको बताउनुभएको छ ।
यस अवसरमा उहाँले प्रजातन्त्रका लागि जीवन अर्पण गर्ने अमर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्मान व्यक्त गर्नुभएको छ ।
ओलीले यस ऐतिहासिक दिनबाट प्रेरणा लिँदै राष्ट्र र लोकतन्त्र सुदृढीकरणका लागि सबैलाई जागरूकतापूर्वक अघि बढ्न अपिल गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्