जनता टाइम्स

१० फाल्गुन २०८२, आईतवार १२:२९

दुई वर्षदेखि बगर स्याहार्दै किसान, फलाँटे खोलामा स्थायी तटबन्धको माग


रामेछाप, फागुन १० । रामेछाप नगरपालिका–२, ३ र ४ काे देउराली, साँघुटार र हिमगंगा हुँदै बग्ने फलाँटे खोलाले पुर्‍याएको क्षतिपछि स्थानीय किसानहरू विगत दुई वर्षदेखि बगर स्याहार्ने काममै जुट्न बाध्य हुनुभएको छ।

२०८१ सालमा आएको बाढीले धान लहलहाएको उर्वर खेत एकैदिन बगरमा परिणत गरेपछि उहाँहरू ढुङ्गा टिप्ने, आँठो बाँध्ने र जाली थप्ने काम गर्दै जमिन पुनः खेतीयोग्य बनाउन प्रयासरत हुनुहुन्छ। खोलाले बगाएर बनाएको बगरलाई पुनः खेतमा परिणत गर्न धेरै किसानले उल्लेख्य समय र खर्च लगाइसक्नुभएको छ। केहीले बगर बिराउने काम सम्पन्न गरी पुनः बाली लगाउन सफल हुनुभएको छ भने पर्याप्त तटबन्ध नहुँदा अझै केही किसानको खेत उपयोगविहीन अवस्थामा रहेको छ।

स्थानीय किसान भूपाल श्रेष्ठका अनुसार २०८१ सालको बाढीले हजार मुरीभन्दा बढी धान उत्पादन हुने खेत बगाएको थियो। ‘२० वर्षअघि २०६१ सालमा आएको बाढीले पनि खेत बगर बनाएको थियो, धेरै वर्षको मेहनतपछि बल्ल पखत बनेको थियो, तर २० वर्ष पछि फेरि खोलो फर्कियो र खेत बगर बनाइदियो,’ उहाँले दुःख व्यक्त गर्नुभयो।

श्रेष्ठले खेत पुनः निर्माणका लागि सात महिनाभन्दा बढी समय डोजर लगाएर गरा बनाइएको जानकारी दिनुभयो। किसानहरूले सामूहिक रूपमा खर्च व्यहोरेर जमिन सम्म्याउने, ढुङ्गा हटाउने र गरा मिलाउने काम गर्नुभएको छ। अहिले केही खेतमा पुनः बाली लगाइएको भए पनि खोला बढ्ने बित्तिकै पुनः कटान हुने त्रास कायमै रहेको उहाँको भनाइ छ।

स्थानीयका अनुसार स्थायी र प्रभावकारी तटबन्धको व्यवस्था नभएसम्म हरेक वर्ष जोखिम दोहोरिन सक्ने अवस्था छ। वर्षायाम सुरु हुनुअघि नै खोला नियन्त्रण र तटबन्ध निर्माणतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने माग किसानहरूले राख्नुभएको छ।

उहाँहरूका अनुसार खेत बगरमा परिणत हुँदा खाद्यान्न उत्पादनमा मात्र होइन, स्थानीय अर्थतन्त्र र जीविकोपार्जनमा समेत गम्भीर असर परेको छ। खेतीपातीमा निर्भर परिवारहरू वैकल्पिक आम्दानीको स्रोत नहुँदा थप समस्यामा परेका छन्।

फलाँटे खोलाबाट बारम्बार हुने कटान नियन्त्रणका लागि दीर्घकालीन योजना, पर्याप्त बजेट र प्राविधिक अध्ययनसहितको तटबन्ध निर्माण अपरिहार्य रहेको स्थानीयवासीहरूको भनाइ छ। अहिले भने किसानहरू आफ्नै श्रम र लगानीबाट बगरलाई पुनः उर्वर जमिनमा रूपान्तरण गर्ने संघर्षमा जुटिरहनुभएको छ।