जनता टाइम्स

२१ मंसिर २०७६, शनिबार १२:३६

बाकसमा फर्किए चुनावको ऋण तिर्न बिदेसिएका यी नेता


बझाङ, मंसिर २१ । बझाङ छबिसपाथिभेर गाँउपालिका वडा नम्बर ७ का रमेशबहादुर बोहरा स्थानीय नेता थिए । गत स्थानीय तहको निर्वाचनमा बोहोरालाई सोही वडामा वडाध्यक्षको उम्मेद्वार बनाइयो ।

नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका बोहोराले चुनाव भने जित्न सकेनन । चुनाव जित्न साथीभाईसँग ऋण लिएर गरेको खर्च तिर्न बोहोरा दुई बर्षअघि मलेसिया गए बैदेशिक रोजगारमा । चुनावको ऋण तिर्न मलेसिया पुगेका बोहोरा उतै ज्यान गुमाएर बाकसमा फर्केका छन । सबैका समस्या समाधानका लागि सधैं अग्रसर रहने बोहोरालाई चुनावको ऋण नै आफ्नो जीवनलीला समाप्त पार्ने हतियार बनिदिएपछि अहिले सवै वडाबासी मर्माहत बनेका छन । चुनावमा ऋण लागेपछि मलेसिया भासिएका बोहोराको यही मंसिर १३ गते मलेसियामै अचानक मृत्यु भयो । तर परिवारले अहिलेसम्म मृत्युको कारण थाह पाउन सकेको छैन । बोहोराको शव झिकाएर शुक्रबार अन्तिम संस्कार गरिएको छ ।

आफन्तका अनुसार वडाको नेतृत्व लिन बोहोराले आफ्ना साथीभाइ र आफन्तहरुसँग ऋण लिएर खर्च गरे । तर, झिनो मतले पराजीत बने । चुनावमा बोहरा १ सय २ मतले पराजित भएका थिए । तर झण्डै ७–८ लाख रुपैयाँ खर्च भएको थियो । त्यही ऋण तिर्न उनी दुई वर्षअघि उनी घरका लालाबाला छोडेर बैदेशिक रोजगारका लागि मलेसिया गए । बोहराका दुई छोरी र एक छोरा छन्। जेठी छोरी १० वर्षीया, कान्छी छोरी ३ वर्षीया र छोरा ८ वर्षका छन ।

चुनावको ऋणले बिदेसिएका बोहोरा आफै बाकसमा आएपछि श्रीमती र छोराछोरी निकै ठुलो पीडामा छन । जीवनभर अरुको सेवामा लागेका बोहोराको परिवार अनाथ बनेको छ ।