जनता टाइम्स

२१ मंसिर २०७६, शनिबार १३:४८

अस्पतालको सेवाबाट ९७ प्रतिशत बिरामी असन्तुष्ट


रुपन्देही, मंसिर २१ । लुम्बिनी प्रादेशिक अस्पतालको सेवाबाट बिरामीहरुमा चरम असन्तुष्टी छाएको पाइएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक एक हजार दुई बिरामी उपचारका लागि आउने गरे पनि अधिकांशले अस्पतालको सेवा राम्रो नभएको भन्दै चरम असन्तुष्टि जनाएका हुन ।

उपचारमा आएका बिरामीसँग अस्पतालमा चिकित्सक र नर्सले गर्ने व्यवहारदेखि सरसफाइ, खानेपानी र फार्मेसी सेवा सम्बन्धमा असन्तुष्टि देखिएको हो । प्रदेश ५ सरकारले गरेको अध्ययनमा अधिकांश बिरामीले अस्पतालको सेवाप्रति आफ्नो असन्तुष्टि व्यक्त जनाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदका सचिव टेकनारायण पाण्डेले बताउनुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको सर्वेक्षणअनुसार ९७ प्रतिशत बिरामीले अस्पतालको सेवाबाट सन्तुष्ट नभएको जनाएका छन भने तीन प्रतिशत बिरामीले मात्रै अस्पतालको सेवा राम्रो भएको बताएका छन ।

बिरामीले अस्पतालमा चिकित्सक र नर्सले गर्ने व्यवहारसमेत सही नभएको उनीहरुको गुनासो छ । अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६९ प्रतिशतले चिकित्सकको व्यवहार ठीकठीकै लागेको प्रतिक्रिया दिएका छन । यस्तै सात प्रतिशत बिरामीले मात्रै नर्सको व्यवहार राम्रो लागेको बताएको अध्ययनले देखाएको छ । अस्पतालमा उपचारका लागि आउने बिरामीले प्रश्न गर्दा चिकित्सक र नर्सहरुले जवाफ दिनै झर्को मान्ने, बिरामीलाई गालीगलौज गर्ने, राम्रो व्यवहार नगर्ने गरेको सो अध्ययनले देखाएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अस्पतालको उपचार सेवा, सरसफाइ, खानेपानी र फार्मेसी सेवाका विषयमा समेत अधिकांश बिरामीले गुनासो गरेका छन । अस्पतालको फार्मेसीमा औषधि नभएका कारण ७५ प्रतिशत बिरामीले अस्पतालबाहिर निजी क्लिनिकबाट औषधि किन्नुपर्ने बाध्यता औल्याएका छन ।

अध्ययनअनुसार अस्पतालमा आएका बिरामीमध्ये ल्याब जाँच गर्नुपर्ने बिरामीहरु चिकित्सक र नर्सको सिफारिसमै निजी क्लिनिकमा जाने गरेका छन् । अस्पतालमा ल्याब परीक्षण गराउँदा सस्तो पर्ने भए पनि आफूलाई आउने कमिशनका कारण चिकित्सक र नर्सले निजी क्लिनिकमा ल्याब परीक्षण गर्न पठाउने गरेको पाइएको हो । त्यसरी चिकित्सक र नर्सको सिफारिसमै ल्याब जाँच गर्न बाहिर जाने बिरामी ३२ प्रतिशत छन । अस्पताल आउने ७७ प्रतिशत बिरामीले अस्पतालको सरसफाइ राम्रो नभएको बताएका छन । अस्पतालको सेवा सुधार गरी बिरामीलाई गुणस्तरीय उपचार सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश सरकारले अस्पतालमा आन्तरिक सर्वेक्षण गरेको हो ।

विसं १९६७ फागुन १५ गते जितगढीमा स्थापना भएको अस्पताल २०२४ सालमा लुम्बिनी अञ्चल अस्पतालका रुपमा परिणत भएको थियो । २०७५ माघमा प्रदेश मातहत आएर अहिले लुम्बिनी प्रादेशिक अस्पतालका रुपमा सञ्चालित छ । प्रदेशका सबैजस्तो जिल्लाबाट बिरामीहरु उपचारका लागि यहाँ आउँछन् । अस्पतालमा प्रायः सबै रोगका विशेषज्ञहरु छन् । तर अस्पतालका जागिरे चिकित्सकले अस्पतालभित्र भन्दा बाहिरका निजी क्लिनिकमा बढी समय दिएपछि समयमा सेवा पाउन नसकेको बिरामीको गुनासो छ । प्रदेश सरकारले अस्पतालमा विशिष्टीकृत सेवा सञ्चालन गर्न प्रक्रिया अघि बढाएको छ । प्रदेशको गौरवको आयोजनाका रुपमा लिएर प्रादेशिक अस्पताललाई विशिष्टीकृत अस्पतालका रुपमा विकास र विस्तार गर्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

अस्पतालमा भवन अभावका कारण बिरामीलाई सेवा दिन समस्या भएपछि डाइग्नोष्टिक भवन बनाउन शुरु गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अस्पतालको स्तरवृद्धि गर्दै जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिने रणनीतिअनुरुप काम अगाडि बढाएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताउनुभयो । अस्पतालको सेवा सुधारका लागि इमर्जेन्सी र प्रसूति सेवालाई प्राथमिकतामा राखेर काम अघि बढाएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिनुभयो । रासस