जनता टाइम्स

१९ चैत्र २०८२, बिहीबार ०८:०८

चैत २२ गते प्रतिनिध सभाकाे सभामुख चयन हुने, चैत २० गते मनाेनयन दर्ता 


काठमाडौं, चैत १९ । प्रतिनिधि सभाको सभामुख चयन चैत २२ गते गर्ने विषयमा सर्वदलीय सहमति भएको छ । ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सभामुख निर्वाचनको कार्यतालिकामा सहमति जनाएको हो ।

दलीय सहमतिअनुसार अधिवेशनको पहिलो बैठकले आज सभामुख चयनका लागि कार्यतालिका सार्वजनिक गर्नेछ । संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था रहेको छ ।

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम सभामुख निर्वाचनको दिन तोकिनेछ । चैत २० गते सभामुख पदका लागि मनोनयन दर्ता गरिनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभामुख चयनको कार्यतालिकामा सर्वदलीय सहमति भएको जानकारी दिनुभयो । प्रतिनिधि सभाको पहिलो बैठकबाट कार्यतालिकाबारे जानकारी दिइनेछ ।

संविधानमा सभामुख र उपसभामुखमध्ये एक जना महिला अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था रहेको छ । सभामुख र उपसभामुख फरक राजनीतिक दल र फरक लिङ्गबाट चयन हुनुपर्ने प्रावधानसमेत रहेको छ ।

यद्यपि प्रतिनिधि सभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको अवस्थामा वा प्रतिनिधित्व भए पनि उम्मेदवारी नदिएको अवस्थामा भने एउटै दलका सदस्य सभामुख र उपसभामुख बन्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद (डिपी) अर्याललाई सभामुखको उम्मेदवार बनाउने तयारी गरेको जनाइएको छ । यदि रास्वपाबाट उहाँ सभामुखमा निर्वाचित हुनुभयो भने अन्य दलबाट महिला सदस्य उपसभामुखमा निर्वाचित हुने सम्भावना रहेको छ । उपसभामुखमा कुन दलले उम्मेदवारी दिने भन्ने विषयमा भने हालसम्म राजनीतिक सहमति भइसकेको छैन ।