काठमाडौं, चैत १९ । प्रतिनिधि सभा सदस्य भिष्मराज आङ्देम्बेले नागरिकमा नयाँ आशा र विश्वास जगाउन अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभएको छ।
आजबाट सुरु भएको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसबाट निर्वाचित सांसद आङ्देम्बेले राजनीतिक दलहरूबीच मतभेद भए पनि राष्ट्रिय हितमा सबै एउटै यात्रामा रहेको धारणा राख्नुभयो। ‘हामी भिन्न भए पनि एउटै नौकामा छौँ,’ उहाँले भन्नुभयो, ‘डुबे सबै डुब्छौँ, उठे सबै उठ्छौँ।’
उहाँले नेपाली कांग्रेस समयअनुसार रुपान्तरित हुँदै आएको उल्लेख गर्दै बदलिएको राष्ट्रिय तथा राजनीतिक परिवेशअनुसार अझ परिवर्तनशील भएर अघि बढ्नुपर्नेमा पार्टी स्पष्ट रहेको बताउनुभयो।
आङ्देम्बेले विगत ३५ वर्षमा देशमा केही पनि नभएको भन्ने भाष्यलाई चुनौती दिनुपर्ने बताउनुभयो। अनेकौँ संकटका बीच पनि देशमा महत्वपूर्ण विकासका कामहरू भएको उल्लेख गर्दै उहाँले ‘केही पनि भएको छैन’ भन्ने निराशावादी धारणा सत्यको जगमा नउभिएको बताउनुभयो।
उहाँले भएका उपलब्धिहरू नागरिकसम्म स्पष्ट रूपमा पुर्याउँदै बाँकी रहेका कामहरूलाई तीव्रताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
संसद भवनमा भदौ २४ गते भएको आगलागी घटनाको स्मरण गर्दै उहाँले त्यसबेलाको खरानी सम्झेर अब त्यस्तो अवस्था सिर्जना गर्ने जो–कोहीलाई पनि नछाड्ने संकल्पका साथ अघि बढ्नुपर्ने बताउनुभयो।
उहाँले भदौ २३ र २४ गते भएका घटनालाई सँगै जोडेर हेर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। सरकारले गठन गरेको जाँचबुझ आयोगले भदौ २४ को घटनाको मात्र छानबिन गरेको र भदौ २३ को घटनालाई समेट्न नसकेको भन्ने तर्क गलत रहेको उहाँको भनाइ थियो।
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषयमा पनि उहाँले सरकारको ध्यानाकर्षण गराउँदै प्रतिवेदन सरकारले नै औपचारिक रूपमा सार्वजनिक गर्ने कि सरकार स्वयं पत्रिकाबाट पढ्ने अवस्थामा रहने भन्ने प्रश्न उठाउनुभयो।
उहाँले सरकारलाई कानुनसम्मत ढंगले अघि बढ्न आग्रह गर्दै छानबिन प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउनुपर्ने धारणा राख्नुभयो।













प्रतिक्रिया दिनुहोस्