जनता टाइम्स

१२ बैशाख २०८३, शनिबार २०:२७

बीपी राजमार्ग पुन : अवरुद्ध, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीको आग्रह 


काठमाडौं, वैशाख १२ । आज दिउँसाेकाे वर्षाको कारण बिपी राजमार्गको राेशीखाेला खण्ड पुनः अवरुद्ध भएको छ। काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा अत्यधिक वर्षा भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी साधन सञ्चालन तत्कालका लागि पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रहरीका अनुसार सडकको अवस्था सुरक्षित नभएकोले पूर्वसावधानीस्वरूप यातायात बन्द गरिएको हो। मौसममा सुधार आएपछि तथा सडकमा कुनै अवरोध नरहेको सुनिश्चित भएपछि मात्र पुनः सञ्चालनबारे अर्को सूचना जारी गरिने प्रहरीले जनाएको छ ।  विशेष गरी रोशीखोला क्षेत्रमा बनाइएको अस्थायी डाइभर्सनमा निर्भर रहनुपरेको कारण सामान्य वर्षासमेत राजमार्ग अवरुद्ध हुने मुख्य कारण बनेको छ। गत वर्ष र यस वर्षको वर्षा याममा आएको बाढीले मूल सडक बगाएपछि हाल सो क्षेत्रमा अस्थायी सडकमार्फत सवारी सञ्चालन हुँदै आएको थियो। मूल सडक निर्माणको काम भइरहेको छ ।

खोलामा पानीको सतह बढ्ने बित्तिकै डाइभर्सन बगाउने भएकाले यातायात पटक–पटक अवरुद्ध हुँदै आएको छ। यसले काठमाडौंपूर्वकाे आवागमनमा समस्या हुने गरेको छ । सडक अवरुद्ध भए पछि नेपालथाेक र भकुण्डेमा यातायात साधन रोकिएका छन् ।

प्रहरीले यात्रु तथा चालकलाई अनावश्यक जोखिम नलिन आग्रह गर्दै आपतकालीन जानकारीका लागि १०० तथा ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।