जनता टाइम्स

१३ बैशाख २०८३, आईतवार १४:३५

बुटवलमा सरकारी जग्गामा बनाएको भन्दै घर-टहरामा डोजर लगाइयो, सूचना नै नदिई भत्काइएको भन्दै स्थानीय आक्रोशित


रूपन्देही, वैशाख १३ ।  बुटवलमा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएको भन्दै व्यक्तिका घर–टहरा हटाउन डोजर प्रयोग गरिएको छ। बुटवल उपमहानगरपालिकाले शनिबार साँझ माइकिङमार्फत सूचना जारी गरे लगत्तै आइतबार बिहानैदेखि नगर प्रहरी र नेपाल प्रहरी परिचालन गरी संरचना हटाउने कार्य सुरु गरिएको हो।

स्थानीयले सूचना जारी भएको केही घण्टामै डोजर लगाएर आफूहरूलाई सामान व्यवस्थापन गर्ने पर्याप्त समय नदिइएको भन्दै असन्तुष्टि जनाएका छन्। माइकिङपछि केही स्थानीयले गएरातिदेखि नै सामान सार्न थालेका थिए भने आइतबार बिहान पनि टहरा धनीहरूले संरचना हटाउने प्रयास गरिरहेका थिए।

सो बस्ती बुटवल उपमहानगरपालिका–४ अन्तर्गत उच्च अदालत तुलसीपुरको बुटवल इजलास अगाडि रहेको सरकारी जग्गामा अवस्थित छ। उक्त जग्गा साबिकमा लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको र पछि उच्च अदालतको भोगाधिकारमा दिइएको जनाइएको छ। सोही जग्गामा करिब २४ घर–टहरा रहेका छन् ।