जनता टाइम्स

२८ मंसिर २०७६, शनिबार १४:३५

धनुषा बम बिष्फोट प्रकरण : प्रहरीले समात्यो बिप्लव समुहका तीन स्थानीय नेता


जनकपुर, मंसिर २८ । नेपाल प्रहरीका इन्सपेक्टरसहित ३ जनाको ज्यान जाने गरी गराइएको बम बिस्फोट घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका तीन स्थानीय नेता रहेका छन् ।

दुई महिलासहित ३ जनालाई पक्राउ गरिएकोको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर २ संयोजक ५१ वर्षिय सीतादेवि महरा, केन्द्रीय सदस्य ४१ वर्षिय ललिता महरा र रामसोभित गाहा रहेका छन् । तीनै जनालाई पक्राउ गरी अनुसन्धान थालिएको डिएस्पी कार्कीले बताउनुभयो ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५ स्थित इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटरको दुरीमा पर्ने राजेश साहको नवनिर्मित घरमा गएराति विस्फोट हुँदा साहसहित इन्सपेक्टर अमिरकुमार दाहाल र राजेश साहका छोरा आनन्द साहको मृत्यु भएको थियो । यस्तै अन्य ४ जना घाइते भएका छन् ।

मृतकमध्येका राजेश्वर साह औषधी व्यवसायी रहेको र उनले पक्राउ परेका एक ब्यक्तिलाई लगानी गरेको प्रारम्भिक सूचना प्रहरीले पाएको छ । ‘पक्राउ परेका एक व्यक्ति पनि मृतक साहसँग रकम लिएको थियो, लिएको ऋण तिर्न मृतक साह पटक पटक दबाब दिदै आएका थिए । सोही कारण विस्फोट गराएको हुनसक्ने अनुमान छ,’ एक प्रहरी अधिकृतले जनताटाइम्ससँग भने । घाइते साहकै तीन आफ्न्तको उपचार धरानमा भइरहेको छ ।