जनता टाइम्स

१४ बैशाख २०८३, सोमबार ०७:३३

जान्नेलाई छान्ने भनेको यही रहेछ : छाता ओढाइ माग्ने भन्दा ओढाउने दोषी


काठमाडौं, वैशाख १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्कीले पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी माथि भएको आलोचनाको बचाउ गर्दै ‘छाता ओढाउने नै दोषी’ रहेको धारणा सार्वजनिक गर्नुभएको छ।

हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा फोटोमा महामन्त्री बुर्लाकोटीलाई कार्यक्रममा सहभागी एक व्यक्तिले छाता ओढाइदिएको दृश्य देखिएपछि सर्वत्र आलोचना भएको थियो। उक्त घटनालाई लिएर नेता कार्कीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै विवादको केन्द्रमा व्यक्ति होइन, प्रवृत्ति रहेको बताउनुभएको हो। उहाँले बुर्लाकोटी ‘भाउ खोज्ने वा सम्मानको भोको व्यक्ति नभएको’ दाबी गर्दै सरल स्वभावकै कारण कतिपय कमजोरीसमेत नजरअन्दाज हुने गरेको उल्लेख गर्नुभयो। “पूरा भिडियो हेर्दा त्यही छातामुनि अन्य व्यक्तिहरू पनि उभिएका देखिन्छन्,” उहाँले उल्लेख गर्नुभयो।

कार्कीका अनुसार मुख्य प्रश्न बुर्लाकोटीले छाता ओढे वा नओढेको नभई, एक जना सांसदका लागि किन कोही छाता समाएर उभिन्छ भन्ने हो। उहाँले समाजमा सांसदप्रति ‘अतिशयोक्तिपूर्ण धारणा’ रहेको टिप्पणी गर्नुभएकाे छ । “धेरैलाई सांसद हुनु भनेकै असाधारण महान् वा सर्वज्ञानी हुनु हो भन्ने लाग्दो रहेछ, तर चुनाव जित्दैमा कसैको बौद्धिकता रातारात बदलिँदैन,” उहाँले लेख्नुभएको छ।

उहाँले मतदाताले विभिन्न कारणले प्रतिनिधि चयन गर्ने हुँदा केवल योग्यता मात्रले निर्वाचित हुन पर्याप्त नहुने यथार्थ औंल्याउँदै समाजले पनि जनप्रतिनिधिलाई अनावश्यक रूपमा उचाल्ने प्रवृत्ति त्याग्नुपर्ने धारणा राख्नुभएकाे छ । कार्कीले सांसदप्रति हुने चाप्लुसी, अनावश्यक तडकभडक तथा ‘विशेष व्यवहार’ले दुवै पक्षलाई हानि पुग्ने उल्लेख गर्नुभएकाे छ। “सांसद रिसाउला कि, नजिक बनौँला कि भनेर चाप्लुसी गर्ने र त्यसैमा सांसद पनि भ्रममा पर्ने अवस्था देखिन्छ,” उहाँले लेख्नु भएकाे छ ।

उहाँले सांसदलाई ‘पदेन बौद्धिकता’ र ‘पदेन महानता’को भार नबोकाउन आग्रह गर्दै सामान्य नागरिकले एकअर्कालाई गर्ने जति सम्मान र व्यवहार पर्याप्त हुने बताउनुभएकाे छ । “सांसद पनि मान्छे नै हो, यसको पनि सीमा छन् भन्ने स्वीकार गरिनुपर्छ,” उहाँले उल्लेख गर्नुभएकाे छ ।

साथै, उहाँले नागरिकलाई जनप्रतिनिधिको वास्तविक मूल्यांकन गर्न आग्रह गर्दै उनीहरू आफ्नो जिम्मेवारीमा इमानदार छन् कि छैनन्, जनताको आवाज संसदमा उठाउँछन् कि उठाउँदैनन् भन्ने विषयमा खबरदारी गर्नुपर्ने बताउनुभएकाे छ । “त्यो तपाईँको अधिकार पनि हो र कर्तव्य पनि,” उहाँले लेख्नुभएको छ।