जनकपुर, मंसिर २८ । प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जानेगरी धनुषाको महेन्द्रनगरमा भएको बम विष्फोटमा नेत्रविक्रम चन्द (बिप्लव) समूहले योजनावद्ध रुपमा गराएको तथ्य खुलेको छ । चन्दा माग्दा नदिएकाले घरमा बम राखेको र रिमोट कन्ट्रोलमार्फत बिष्फोट गराई तीन जनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बमभित्र फलामका टुक्रा (किला) समेत राखेर पड्काएको पाइएको जानकारी दिनुभयो । ‘घटनाको प्रकृति हेर्दा मोबाइलबाट रिमोर्ट कन्ट्रोल गरी विष्फोट गराइएको छ,’ प्रजिअ कँडेलले भन्नुभयो । उहाँले विष्फोट हुनुअघि परिवारलेसमेत पोको खोलेको स्थानीयको भनाइ उद्धत गर्दै बताउनुभयो । धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर कार्कीका अनुसार बिप्लव समुहले कुकर बम विष्फोट गराएको अनुसन्धानका क्रममा देखिएको छ ।
‘व्यक्तिगत कारणले बम राखेको हुनसक्छ, विप्लव समूहले दशैँका बेला चन्दाका लागि भनेर पत्र पनि पठाएको रहेछ, पैसा नदिएपछि यो घटना घटाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ डिएसपी कार्कीले भन्नुभयो । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गए राति भएको घटनामा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहाल र एकै परिवारका बाबु–छोराको मृत्यु भएको थियो । स्थानीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उहाँका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको थियो भने सोही विस्फोटमा परी घाइते प्रहरी निरीक्षक दाहालको उपचारका क्रममा ज्यान गएको छ ।
विष्फोटमा परी राजेशका कान्छा छोरा प्रकाश, छोरी निक्कीकुमारी र बुबा भिखारी साह तथा प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएका छन् । डिएसपी कार्कीले घरको भित्री गेटमा बम राखेको र प्रहरीले बम डिस्पोजल टोलीलाई बोलाएर ठाउँ सुरक्षित राख्दाराख्दै विष्फोट भएको जानकारी दिनुभयो । ‘घटनास्थल पुगेपछि एकपटक मलाई रिपोर्ट गरे, मैँले ठाउँ सुरक्षित राख्न निर्देशन दिएँ, अर्काे पटक फोन गर्दा घटना भइसकेको खबर पाएँ,’ डिएसपी कार्कीले भन्नुभयो ।
उहाँले घटनास्थलमा मानिसहरु जम्मा भइसकेकाले प्रहरीले हटाउँदै गर्दा विष्फोट भएको बताउनु भयो । प्रहरीकै चलाखीका कारण थप मानवीइ क्षती नभएको उहाँको भनाई छ । शुक्रबार राति १२ः०० बजे राजेशको नवनिर्मित घरको बाहिर फलामको गेटमा केही झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले गेटमा झुण्डिएको झोला बम हो वा होइन भनी अनुसन्धान गर्ने क्रममा विस्फोट भएको थियो । प्रहरीले घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सवै बिप्लव समुहकै स्थानीय नेता रहेका छन ।
यसअघि गत जेठ १२ गते राजधानीको सुकेधारा र घट्टेकुलोमा मानवीय क्षति हुनेगरी चन्द समूहले बम विस्फोट गराएको थियो । विष्फोटमा तीन जनाको मृत्यु भएको थियो । सुकेधारास्थित एक शैलुन र घट्टेकुलोस्थित एक घरको कोठामा विस्फोट भएको थियो । उक्त घटनामा बम बनाउँदै गरेका उक्त समूहका सदस्य नै मारिएका थिए । सुकेधारामा विस्फोट भएकै समयमा घट्टेकुलोमा पनि विस्फोट भएको थियो । गत फागुन १० गते राती ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि चन्द समूहले नै बम विष्फोट गराएको थियो । विष्फोटमा सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने कुमार खत्री, प्रतीक्षा खड्का र उषा मानन्धर घाइते भएका थिए । उक्त घटनामा संलग्नहरु पक्राउ परिसकेका छन् ।
विभिन्न स्थानमा आपराधिक गतिविधि गर्न थालेपछि फागुनको अन्तिम साता सरकारले विध्वंशकारी रहेको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि रोक लगाएको थियो । त्यसपछि प्रहरीले विप्लव समूहका सयौं नेता–कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाउँदै आएको छ । ब्यक्ति हत्या नगर्ने सार्वजनिक घोषणा गरे पनि बिप्वल समुहले यस्तो आपराधिक काम गर्दै आएको छ । जस्को सिकार धनुषामा एक राष्ट्र सेवक प्रहरी र दुई निर्दाेष नागरिक भएका हुन ।
यसैबीच उक्त घटना आततायी भएको भन्दै गृहमन्त्री रामबहादुर थापाले विस्फोटमा संलग्न अपराधीलाई कारबाही गरिछाड्ने प्रतिबद्धता जनाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्