जनता टाइम्स

२९ मंसिर २०७६, आईतवार १२:३८

यस्तो छ प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्था


काठमाडौं, मंसिर २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीव्र सुधार भइरहेको जानकारी दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सो जानकारी दिनुभएको हो ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा केहीबेर उपस्थित हुनुभएका प्रधानमन्त्री ओलीले स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको बताउनु भयो । बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली केहीबेर सचिवालय बैठकमा उपस्थित भएर स्वास्थ्य अवस्थाबारे जानकारी गराउनु भएको बताउनु भयो ।

‘प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यको बारेमा बैठकमा जानकारी गराउनुभयो, तीव्र गतिमा स्वास्थ्य सुधार भइराखेको छ भन्नुभयो,’ श्रेष्ठको भनाई थियो । प्रधानमन्त्री ओलीको मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि अस्पतालमा एक साता बढी आराम गरी निवास फर्कनुभएका प्रधानमन्त्री ओलीलाई दौडधुप नगरी आरा मगर्न चिकित्सकले सुझाएका छन ।

सोहीअनुसार प्रधानमन्त्री ओली आवश्यक कामबाहेक धपेडी नगरी निवासमै आराम गरिरहनु भएको छ । आजको सचिवालय बैठकले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेकपा स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न सचिवालय बैठक बसेको थियो । बैठकले स्थायी कमिटी बैठकका लागि पाँच एजेण्डा तय गरेको छ ।