रामेछाप, जेठ ३ । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले दुर्गम बस्तीका नागरिकसम्म सहज पहुँच पुर्याउन प्रदेश सरकार गम्भीरतापूर्वक लागिरहेको बताउनुभएको छ ।
आइतबार रामेछापको उमाकुण्ड गाउँपालिका–२ बाम्तिमा आयोजित एकीकृत स्वास्थ्य शिविरलाई सम्बोधन गर्दै मन्त्री थापाले ‘सबै नागरिकको स्वास्थ्यमा समान पहुँच हुनुपर्छ’ भन्ने मान्यताअनुसार प्रदेश सरकारले दुरदराजका क्षेत्रमा विशेषज्ञ सेवा विस्तार गरिरहेको बताउनुभयो ।
उहाँले विशेषज्ञ चिकित्सकको पहुँचबाट टाढा रहेको उमाकुण्ड गाउँपालिकाका नागरिकलाई लक्षित गरेर शिविर आयोजना गरिएको उल्लेख गर्दै विभिन्न रोगका विशेषज्ञ चिकित्सकलाई गाउँमै ल्याएर सेवा प्रदान गरिएको जानकारी दिनुभयो । ‘सरकारले नीति, कार्यक्रम र बजेट बनाउँदा सुगम क्षेत्रलाई मात्र होइन, दुर्गम बस्तीका नागरिकलाई केन्द्रमा राख्नुपर्छ,’ मन्त्री थापाले भन्नुभयो, ‘शिक्षा, स्वास्थ्य र अन्य राज्यका सेवामा नागरिकको सहज पहुँच कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा प्रदेश सरकार निरन्तर लागिरहेको छ ।’

मन्त्री थापाले बाम्ति स्वास्थ्य चौकीलाई छिट्टै आधारभूत अस्पतालका रूपमा स्तरोन्नति गरिने घोषणा गर्दै त्यसका लागि संघीय सरकार, स्थानीय तह र नागरिक समाजको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले तत्कालका लागि प्रदेश सरकारले अस्पतालमा एक जना चिकित्सक पठाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले स्थानीय सरकारको सीमित स्रोतका कारण गाउँपालिकाभित्र दुईवटा अस्पताल सञ्चालन गर्न कठिन भइरहेको उल्लेख गर्दै आवश्यक सहयोगका लागि प्रदेश सरकारसँग आग्रह गर्नुभयो । उहाँले गाउँपालिका आफ्नाे क्षमताले भ्याएसम्म नागरिककाे हितमा काम गरेकाे बताउनुभयाे ।

प्रदेश सरकार अन्तर्गतको जनस्वास्थ्य कार्यालय रामेछापले उमाकुण्ड गाउँपालिकासँगको सहकार्यमा आयोजना गरेको शिविरमा रामेछाप अस्पताल, पशुपति चौलागाईँ स्मृति अस्पताल, सिन्धुली अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप, मन्थली अस्पताल तथा तिलगंगा आँखा केन्द्रले प्राविधिक सहयोग गरेका थिए ।
बाम्ति र प्रितिमा सञ्चालन गरिएको उक्त शिविरबाट करिब ९ सय जनाले विभिन्न स्वास्थ्य सेवा लिएको जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु झाले जानकारी दिनुभयो । शिविरमा जनरल, हाडजोर्नी, स्त्रीरोग, बालरोग, दाँत, आँखा तथा आयुर्वेदलगायतका विशेषज्ञ सेवा प्रदान गरिएको थियो ।













प्रतिक्रिया दिनुहोस्