जनता टाइम्स

१ पुष २०७६, मंगलवार ०८:१९

भारतीय बिस्तारवाद विरुद्ध अमेरिकामा रहेका नेपालीले गरे ह्वाइट हाउस अघि प्रदर्शन


बासिंटन डिसी, पुस १ । अमेरिकामा रहेका नेपालीहरुले भारतीय बिस्तारवाद विरुद्ध प्रदर्शन गरेका छन् । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाली भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा ह्वाइट हाउस अघि प्रदर्शन गरिएको हो ।

अतिक्रमणको विरोधमा अमेरिकाको ह्वाइट हाउसदेखि डिसीस्थित भारतीय राजदूतावाससम्म नेपालीहरुले प्रदर्शन गरेका हुन् । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसको अगाडितर्फ रहेको लाफाऐट पार्क वरिपरिको गोरेटोमा दुई पटक चक्कर लगाएपछि अगाडि बढेको विरोध जुलुस डिसीको मुख्य शहर हुँदै भारतीय राजदूतावाससम्म पुगेर सम्पन्न भएको थियो । वानाका पूर्वअध्ययक्ष तथा ट्रष्टी सभापति कुलमणि आचर्यको संयोजनमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा सीमाविद बुद्धिनारायण श्रेष्ठले भारतले गरेको नेपाली भूमि अतिक्रमणको बारेमा जानकारी गराउनु भएको थियो । यस्तै, वरिष्ठ लोकगायक प्रेमराजा महतले देशभक्तिपूर्ण ओतप्रोत भएको गीत सुनाउनुभयो भने लोकगायक रामप्रसाद खनालले भारतलाई व्यंग्य गर्ने कविता वाचन गर्नुभएको थियो । यसैगरी डिसी क्षेत्रका कलाकारद्वय खेम संग्रौला तथा श्याम सुन्दर आचार्यले ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ गीत प्रस्तुत गर्नुभएको थियो ।

उक्त विरोध जुलुसमा अंग्रेजी तथा नेपाली दुवै भाषामा नाराहरु लेखिएका प्रचार सामग्री प्रदर्शन गरिएको थियो । सहभागीहरुले ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो’, ‘गो ब्याक इण्डिया’ भन्दै नारा लगाएका थिए । विभिन्न व्यानर र प्लेकार्डसहित निस्केको उक्त जुलुसको स्वयंसेवक कमान्ड प्रवासी नेपाली मन्च अमेरिकाका राष्ट्रिय अध्ययक्ष प्रभु थापाले ताईक्वान्डो मास्टर कुमार कार्की, कूष्णवहादुर वलाल, गिनिज रेकडधारी उज्जल ठकुरीको सहयोगमा व्यवस्थित तरिकाले सम्पन्न गरेका थिए ।

कार्यक्रममा नेपाल सरकारका महावाणिज्यदुत प्रेमराजा महत, राप्रपा नेपालका महामन्त्री प्रेमकुमार श्रेष्ठ, एनआरएन अमेरिकाका संयोजक राजन त्रिपाठी, एएनए अध्ययक्ष मेदनी अधिकारी ,ओएनएफ अध्यक्ष प्रभु थापा, जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष केशव वडाल, वानाका अध्यक्ष सुवोधविलास पन्त, ईन्जाका अध्यक्ष गुणराज लुईटेल, नासियाका अध्ययक्ष विनय अर्याल, एएनएस अध्ययक्ष प्रभा देउजालगायत विभिन्न संघसंस्थाका पदाधिकारी, खेलाडी ,कलाकार पत्रकारलगायत अमेरिकाको मेरिल्यान्ड, भर्जिनिय लगायत अन्य राज्यहरूवाट पनि सयौं नेपालीको उपस्थित थियो ।

भारतीय राजदुतावास अगाडि गएर सभापन भएको उक्त कार्यक्रममा संयोजक कुलमणि आचार्यले कार्यक्रमलाई भव्य सभ्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबै नेपालि दाजुभाई दिदिवहीनिहरूलाई धन्यवाद दिदै यो प्रदशंनिका अडियो भिडियो सहित भारतीय, ब्रिटिश, नेपालि दुतावास र अमेरिकी ईष्टेट टिपार्टमेन्ट र एशिया क्षेत्र हेर्ने ककससम्म बुझाउने जानकारी दिनुभयो ।