जनता टाइम्स

१ पुष २०७६, मंगलवार १३:२८

पाकिस्तानी अदालतले सुनायो पूर्वराष्ट्रपति पर्वेज मुशर्रफलाई मृत्युदण्डको सजाय


काठमाडौं, पुस १

पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ । लाहौर हाइकोर्टले यो फैसला सुनााएको हो । हाल उनको दुबईमा उपचार भइरहेको छ । केही दिन अघि एक भिडियो सार्वजनिक गर्दै छानविन आयोगलाई आफू कहाँ आउन र आफ्नो अवस्था हेर्न आग्रह गरेका थिए ।

उनी भने हाल पाकिस्तानमा छैनन् । आफूमाथि लागेको संविधानको अवहेलना र देशद्रोहको मुद्दाबारे उनले भनेका थिए, ‘मेरो विचारमा यो निराधार छ । देशद्रोहको कुरा छाडौं, मैले देशको धेरै सेवा गरेको छु, युद्ध लडेको छु र दश वर्षसम्म देशको सेवा गरेको छु ।’

संविधानको उल्लंघनको आरोपमा आफ्ना वकिल सलमान सफदरलाई न्यायालयले नसुनेको उनको गुनासो थियो । ‘मेरो विचारमा यो निकै ज्यादती भइरहेको छ र मलाई न्याय गरिएन’ मुशर्रफले भिडियोमा भनेका थिए ।