जनता टाइम्स

३० जेष्ठ २०८३, शनिबार ०९:२१

राधिका शाक्यलाई पत्र : अब तपाई बोल्नैपर्छ


आमा ! अव तपाई बोल्ने बेला आएको छ, सुरक्षा-प्रशासनदेखि पार्टीभित्र स्वार्थका राजनीति गर्नेहरूका हर्कतबारे अर्थात यिनीहरुले लिएका फाइदाबारे तपाई एकपल्ट बोल्नै पर्दछ । तपाईँको आवाजबाट भ्रम र स्वार्थको इतिहास च्यातिने छ 

डा. सानुमैँया खड्का (सविता)

आदरणीय राधिका आमा !
सादर अभिवादन ।

आज म अत्यन्तै भारी मन र थामी नसक्नु आक्रोशित मानसिकता बोकेर यो पत्र लेखिरहेको छु । भदौ २४, २०८२ को त्यो कालो दिनले हाम्रो राष्ट्रियता, आस्था र विश्वासको जगमाथि निर्मम प्रहार गर्यो । त्यसले छोडेको गहिरो घाउ आज पनि हाम्रो मानसपटलमा ताजै छ । आज म त्यही घाउले कोतरेको मनका पीडा, प्रश्न र आवाजहरू शब्दद्वारा यो पत्रमा व्यक्त गरिरहेको छु ।

आमा, यो पत्र केवल कागजका पानाहरूमा पोखिएको मसी होइन, यो त लामो समयदेखि दबाइएका सचेत नेपाली मनहरूको चित्कार हो । यो ती लाखौँ नेपालीहरू, जो वर्षौंदेखि अन्याय, विभेद र निराशाको भारी बोकेर बाँच्न बाध्य भएका छन्, उनीहरूको प्रश्न हो । तर दुःखसाथ भन्नुपर्छ, ती प्रश्नहरूको उत्तर दिनेहरू आज सत्तामा छन् । उनीहरु ज्यान जाओस्, देशवासीका नाममा, संसदमा, सार्वजानिक फोरमहरुमा कतै बोल्दैनन् । देश मौन छ र सत्य अझै पनि प्रतीक्षामै छ ।

आमा, भदौ २४ को त्यो कालो दिन, देशले जे देख्यो, जे भोग्यो, त्यो कुनै सामान्य विरोध वा आन्दोलन थिएन । त्यो त हाम्रो सभ्यताको पराजय र अराजकताको नाङ्गो नृत्य थियो । सिंहदरबार जस्तो राष्ट्रको प्रशासनिक मुटु, सर्वोच्च अदालतजस्तो न्यायको मन्दिर, बालुवाटार र शीतल निवासजस्ता राज्यका महत्वपूर्ण संरचनामाथि आगो झोस्दै लोकतान्त्रिक संस्थाहरूलाई खरानी बनाउने प्रयास गरिएको दिन थियो ।

त्यो दिन केवल भवनहरूमा आगो लागेको थिएन, नेपाली जनताको आस्था, विश्वास र राष्ट्रिय आत्म सम्मानमाथि पनि प्रहार भएको थियो । राज्यका प्रतीक, लोकतन्त्रका आधार स्तम्भ र सार्वजनिक सम्पत्तिमाथि गरिएको त्यो आक्रमणले समाजलाई गहिरो घाउ दिएको दिन थियो । समग्रमा हाम्रा आस्था र विश्वासका धरोहरहरू लगायत नेताहरूका निजी निवास लक्षित आगोको त्यो बर्बर आक्रमण अडोल्फ हिट्लरको ग्याँस च्याम्वरजस्तै एक्काइसौँ शताब्दीको मानवीय इतिहासको क्रूरता र कलङ्कको दिन थियो । त्यो दिनले राजनीतिक असन्तुष्टि वा आक्रोशको नाममा विनाशलाई वैधता दिन खोजेको थियो । कथित आन्दोलनले नैतिक उचाइलाई होइन, बरु अराजकताको गहिराइलाई उजागर गरिरहेको थियो ।

आमा, कुनै पनि सभ्य समाजमा विचारसँग विचारको लडाइँ हुन्छ, आगोसँग होइन । तर्कसँग तर्कको प्रतिस्पर्धा हुन्छ, विनाशसँग होइन । जब असहमतिका आवाजहरू संवादको सट्टा ध्वंसमा रूपान्तरित हुन्छन्, तब त्यसले केवल संरचनाहरू मात्र भत्काउँदैन, समाजको नैतिक आधार पनि कमजोर बनाउँछ । भदौ २४ को त्यो दिन, नेपाली इतिहासमा आक्रोशले विवेक गुमाएको र अराजकताले सभ्यतालाई चुनौती दिएको एउटा पीडादायी अध्यायका रूपमा अङ्कित भएको छ ।

आज पनि जब म त्यो कालो दिनका दृश्यहरू सम्झन्छु, मेरो मुटुभित्र एउटा असह्य पीडा सल्बलाउन थाल्छ । धुवाँले ढाकिएको आकाश, आगोले निलिरहेका संरचनाहरू, त्रासले भरिएका अनुहारहरू र मौन बनेको राष्ट्रको विवेक, यी सबै दृश्यहरू अझै पनि हामी नेपालीका स्मृतिमा ताजै छन् । यी स्मृतिका पानाहरू पल्टाउँदा मनभित्र बारम्बार एउटै प्रश्न उठ्छ, आन्दोलनका नाममा आफ्नै घर जलाउनु कसरी परिवर्तन हुन सक्छ ? के लोकतन्त्रको रक्षा गर्ने नाममा लोकतन्त्रकै आधार स्तम्भहरूलाई खरानी बनाउने काम कसरी आन्दोलन हुन सक्छ ?

आमा, त्यो दिन केवल भवनहरू जलेका थिएनन्, नेपाली जनताको विश्वास जलेको थियो । केवल पर्खालहरू भत्किएका थिएनन्, नागरिकको आशा र भरोसाका आधारहरू पनि चर्किएका थिए । आगोले केवल सिंहदरबार, अदालत वा अन्य संरचनाहरूलाई मात्र जलाएको थिएन, त्यसले राष्ट्रको आत्मा समेत जलाइ रहेको थियो । हरेक नेपालीका मनहरूमा आगो लगाएको थियो ।
सुरसार अहिलेसम्म केही नभए पनि समय बित्दै जाँदा खरानीमाथि नयाँ संरचनाहरू पनि ठडिएलान् । तर भाद्र २४ ले मनमा छोडेका चोटहरू यति सजिलै मेटिने छैनन् । इतिहासका पानाहरूले एक दिन अवश्य न्यायको अक्षरहरू बोल्नेछन र सत्य एक दिन अवश्य बाहिर आउनेछ । तर त्यो दिनको पीडा, अपमान र हाम्रो राष्ट्रिय चेतनामाथि कोरेको घाउ नेपाली समाजले अझै धेरै वर्षसम्म बोकेर हिँडिरहनु पर्नेछ ।

आमा, आज पनि जब म त्यो बिर्सन नसकिने भाद्र २४ को कालो दिनका दृश्यहरू सम्झन्छु, मेरो मात्रै होइन, हामी सबै नेपालीको मुटुले त्यो पीडा पचाउन सक्दैन । देशभरि आगोको ज्वालाले संरचनाहरूलाई निलिरहेका दृश्यहरू, प्रहरी चौकीहरू र सरकारी भवनहरू धुवाँ र खरानीमा परिणत भइरहेका क्षणहरू, राष्ट्रको सेवा गर्ने कर्मचारीहरू र सुरक्षाकर्मीहरू आफ्नो ज्यान जोगाउन वस्त्र विहीन बनेर निहत्था हात उठाउँदै आत्मसमर्पण गर्न बाध्य भएका दर्दनाक दृश्यहरू, यी सबै सम्झँदा मेरो मनभित्र प्रश्नहरूको आँधी उठ्छ । के त्यो अराजकता साँच्चै देशको हितका लागि थियो ? के ती गतिविधिहरूमा मानवता, संवेदना र विवेकको अलिकति पनि अंश बाँकी थियो ? हामीसँग प्रश्नहरूको लामो सूची छ, तर उत्तर दिनेहरू अझै पनि मौन छन् । हामीलाई यही मौनताले झन् बढी पीडा दिएको छ ।

आमा, कहिलेकाहीँ लाग्छ, के हामी इतिहासका यस्ता काला अध्यायहरूको छायाँ बोकेर बाँच्न मात्र जन्मिएका हौँ ? कि ती अध्यायहरूको सत्य खोज्न, न्याय माग्न र भावी पुस्ताका लागि सही इतिहास लेख्न पनि जन्मिएका हौँ ? यदि होइन भने, किन आजसम्म त्यो दिनको सम्पूर्ण सत्य सार्वजनिक हुन सकेको छैन ? किन राजनीतिक दलहरू मौन छन ? किन सचेत नागरिक समाजको एउटा ठुलो हिस्सा मौनताको पर्दाभित्र लुकेको छ ?

किनभने जब राजनीति विवेकहीन बन्छ, तब त्यसले केवल संस्थाहरूलाई मात्र होइन, समाजको संस्कार, संस्कृति र नैतिक चेतनालाई समेत ध्वस्त पार्न थाल्छ । आज हाम्रो माटोमा अविश्वास, निराशा र अन्यायका बीउ रोपिएका छन् । अपराधीहरू निर्भीक छन्, तर सत्य बोल्नेहरू त्रसित छन् । न्याय खोज्ने नागरिकहरू निराशाका गल्लीहरूमा भौँतारिइरहेका छन् र सत्यको पक्षमा उभिनेहरूलाई चुप लगाउने प्रयास भइरहेको छ ।

तर आमा, सत्यलाई सधैँका लागि लुकाउन सकिँदैन । केही समयका लागि खरानीले आगोलाई ढाक्न सक्छ, तर आगोको तापलाई मार्न सक्दैन । एक दिन त्यही खरानीमुनिको झिल्को ज्वालामा परिणत हुन्छ । इतिहासलाई दबाउन सकिन्छ, मेटाउन सकिँदैन । सत्यलाई रोक्न सकिन्छ, हराउन सकिँदैन । प्रकृतिको नियमजस्तै सत्यको पनि आफ्नै गति हुन्छ, ढिलो हुन सक्छ, तर अन्ततः त्यसले आफ्नो बाटो आफैँ बनाउँछ ।

बालकोट पार्टीका नेता कार्यकर्ताहरूको साझा गन्तव्य थियो । हाम्रो केपी बा ले मान्छेहरूको भेटघाट कि त पार्टी कार्यालय, कि त बालकोट मै गर्नुभयो । पार्टीको अध्यक्षको हैसियतले उहाँले बालकोटमा कूटनीतिक नियोग देखी अन्य स्वदेशी तथा विदेशी मानिसहरूलाई त्यो तपाईले बनाएको घरमा नभेटेर कुनै महँगो होटेलमा भेटेको भए, त्यो विल पार्टीले तिर्नु पर्दथ्यो । कम्तीमा तपाईँले बनाइदिएको त्यो घर हरेक कूटनीतिक मानिस देखी देशी विदेशी मानिसहरूको भेटघाटको केन्द्र बन्यो । यो भेटघाटमा चिया चमिना पनि त खर्च भयो होला । के यो तपाईँले पार्टीलाई गरेका योगदान होइन र ?

आमा, त्यो घटना केवल बाहिर देखिएको एउटा राजनीतिक उथलपुथल मात्र थिएन । त्यो त हाम्रो सम्पूर्ण सभ्यता, लोकतन्त्र र राष्ट्रिय आत्मसम्मानमाथि परेको गहिरो चोट थियो । तर, यति ठुलो सत्यलाई पनि हामीले कहिलेकाहीँ सामान्य समाचारजस्तै बनाएर हेर्ने बानी बसालिसकेका छौँ, मानौँ यो हाम्रो जीवनसँग प्रत्यक्ष सम्बन्ध नै नराख्ने कुनै टाढाको कथा हो ।

हाम्रो मनभित्र अझै एउटा प्रश्न बाँचिरहन्छ, हामी किन यति सजिलै मौन हुन्छौँ ? किन आफ्नै इतिहासका पीडादायी अध्यायहरूबारे बोल्न पनि डराउँछौँ ? के हामीलाई मौन बस्न बाध्य पारिएको हो, वा हामी आफैँले बिस्तारै मौनतालाई स्वीकार गर्दै गएका हौँ ? तर आमा, अझै पनि ढिलो भएको छैन । यदि नेपाली नागरिकका आँखा खुले भने, हामीले देखेका सत्यहरू स्वीकार गर्ने हो भने हाम्रा घाउहरू निको पार्ने बाटो अझै बाँकी छ । नेपाली समाजलाई पुरानो लयमा फर्काउने बाटो अझै बाँकी छ ।

तर यदि हामी फेरि पनि मौन रह्यौँ भने, तिमीहरूले सत्य देखेर पनि किन नबोलेको भनेर इतिहासले हामीलाई फेरि सोध्नेछ । तर त्यो ठाउँ हामीले बाँकी राख्नु हुँदैन ।प्रिय राधिका आमा, किनकि जुन देशले आफ्नो विगतका अपराधहरूलाई बिर्सिन्छ, त्यसको भविष्य कहिल्यै उज्यालो हुन सक्दैन । त्यो भाद्र २४ को बीभत्स कालो छायाले हामीलाई अझै पनि तर्साउन खोजिरहेको छ । जबसम्म हाम्रा प्रश्नहरूको जवाफ मिल्दैन र अपराधीहरूले सजाय पाउँदैनन्, तबसम्म यो राष्ट्रले कहिल्यै शान्तिको सास फेर्न सक्दैन ।

तर आमा, म तपाईँलाई यो पत्रमार्फत गहिरो रूपमा एउटा प्रश्न सोध्न चाहन्छु । जब तपाइका अगाडि सिंहदरबार जलेको खबर आयो, सर्वोच्च अदालत, बालुवाटार र अन्य संरचनाहरू ध्वस्त भएको खबर आयो र जब तपाईँको मेहनत र पसिनाले बनेको बालकोटस्थित तपाईँको घर जलेको खबर आयो, तपाईँको मस्तिष्कले त्यति वेला के सोच्यो होला ? त्यो क्षण तपाईँको मनभित्र के चल्यो होला ? आफ्नै जीवनसँग जोडिएको ठाउँ आगोमा परिणत हुँदै थियो, त्यो दृश्य तपाईँले कसरी सहनुभयो होला ?

पक्कै पनि त्यो तपाईँको मेहनतमाथि लागेको आगो निभाउन तपाईँलाई हतारिएर जान मन थियो होला । तपाईँकै अगाडि देश र बालकोट जलिरहेको सूचना बोकेर बालुवाटारमा देशका सुरक्षा अङ्गका प्रमुखहरू बसेका थिए । तर उनीहरू थाहा पाएर पनि थाहा नपाएजस्तो गरे होला ? त्यो आगो निभाउन जान उनीहरू तयार थिएनन् होला ? किनकि उनीहरूको नियत पनि जलाउनु नै त थियो । यो सत्य देशले कहिले बुझ्छ ? जब यो सत्य देशले बुझ्छ नि, फेरी त्यहाँ यो लुकेको अन्यायको विरुद्ध अर्को क्रान्ति अवश्य हुन्छ । तपाई ढुक्क हुनुस् आमा ।

तपाइको मेरो अनुभूति भाग २ मा तपाईँले नै लेख्नु भएको छ नि । शक्ति त्यस्तो चीज हो, जसले सत्यलाई सधैँकालागि नभए पनि केही समयका लागि कुल्चन सक्छ । हो, आमा, पापीहरूले, दुष्टहरूले, देशघातीहरुले, लोकतन्त्र विरोधीहरूले हाम्रो इतिहासलाई, हाम्रो निष्ठा र सत्यलाई केही समय भ्रमको खेती गरेर इतिहास बङ्ग्याउन सक्छन् । तर जब असत्यको पर्दा च्यातिन्छ नि, त्यस दिन असत्यको अँध्यारो हटेर सत्यको झलमल बिहानी उदाउने छ ।

आमा, तपाईँको रगत र पसिनाबाट बनेको घर मानिसहरूले इँटा र सिमेन्टको घर ठानेका छन भने त्यो उनीहरूको गलत बुझाई हो । एउटा इतिहास बोकेको घर, जसले त्यो ठाउँको पहिचान बदलेको छ । यहाँ थोरै त्यसको निर्माणको इतिहास गर्न चाहन्छु ।

आदरणीय आमा, तपाईँले लेख्नुभएका पहिलो पुस्तक मेरो अनुभूति र दोस्रो करुणाले तपाईँको वैवाहिक जीवनको सुरुवातदेखि केपी शर्मा ओलीसँगको सहयात्रा र तपाईँहरूले भोगेका कठिन सङ्घर्षका पाटाहरूलाई छर्लङ्ग पारेका छन् । म यहाँ ती सङ्घर्षका कथाहरूभन्दा बालकोटको त्यो घर, जुन एउटा सामान्य इँटा ढुङ्गाको संरचनाले मात्र होइन, बरु तपाईँको दशकौँ लामो सङ्घर्षका कारण निर्माण भएको छ, त्यसको चर्चा गर्न चाहन्छु ।

आमा, म गलत छैन भने तपाईँको केपी बा सँग विवाह भएपछि जीवनमा डेरा खोज्ने र कोठा फेर्ने बाध्यताको चक्र सुरु भयो । एउटा कोठाबाट सुरु भएको तपाईँको बसाई केपी शर्मा ओली सांसद, गृहमन्त्री हुँदासम्म पनि आफ्नो स्थायी बसाइँको ठेगानामा परिवर्तन भएको थिएन । केही थान कपडा बोकेर ९ महिने गृहमन्त्री क्वाटरबाट बाहिर निस्केपछि तपाइहरूले पाटन क्याम्पस पछाडि तपाईँको बहिनी सहित मिलेर एउटा घर भाडा लिएर ९ महिना बस्नु भयो । तर त्यही समयमा एक जना साथीले नयाँ बानेश्वरमा दिएको भाडाको घरमा ५ वर्ष जीवन यापन गर्नु भएको थियो । जीवनमा कहिले भाडाको घरमा बसेको अनुभूति नभएको तपाईँमा आफ्नै छत भएको एउटा सुरक्षित घर होला भन्ने छटपटीले तपाईँलाई कति सतायो होला ?

तर त्यो सपना सजिलै पुरा हुनेवाला थिएन । राष्ट्र बैकको कर्मचारीको हैसियतले तपाईँले झापाको दमकमा किनेको १३ धुर जग्गा र त्यसको विक्रीबाट आएको रकम, गठ्ठाघरको बेचेको ४ आना जग्गा र कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएको समयमा राजनीतिक राहत बापत प्राप्त ७५ हजार रुपैयाँको आर्थिक सहायता तपाईँको घर बनाउने अभियानका आधार बनेका हुन भन्ने मलाई लागेको छ ।

जुन रकमबाट २०६० सालमा तपाईँले बालकोटमा १२ लाख रोपनीमा एक रोपनी जग्गा किन्नु भयो र आफ्नो पसिनाले सिँचिएको एक तले घर निर्माण गर्नु भयो । डेराको झन्झटबाट मुक्ति पाएको त्यो दिन सायद तपाईँको जीवनको सबैभन्दा खुसीको क्षण थियो, त्यो आफ्नै छत, आफ्नै सुरक्षा र एउटा शान्त संसारको तपाईँको सपना थियो नि होइन आमा ? साँच्चै, त्यो दिन तपाईँलाई सबैभन्दा सुकुन् मिलेको दिन थियो होला होइन आमा ?

सबैका घर निर्माणका आफ्नै कथा र व्यथाहरू छन् र होलान् । तर बालकोटमा तपाईँले बनाएको घर, जहाँ लाखौलाख मानिसहरूले पाइला टेके होलान् । हजारौँ मानिसहरूले त्यो घरका कोठाहरूबाट पाइँदाका पोकाहरू बोकेर निस्के होलान् । हिजो त्यो घरको गेटभित्र पस्नु मात्र मानिसहरूको गौरवको विषय थियो । तर आज दुर्जनहरूको आगोको सिकार बनेर भग्नावशेष बनेको त्यो घरको बारेमा चुँसम्म पनि बोल्दैनन् बरु उल्टो लाजघीन पचाएर त्यो खरानीको समर्थनका आवाजहरू बोल्न खोज्छन् 

आमा, तपाइकै भाषामा केपी सरको सुरक्षाकालागि, उहाँको राजनीतिक जीवन र जीवनयापनको उहाँको सुरक्षा र भविष्यप्रतिको चिन्ताले बनाउनु भएको बालकोटको घर कालान्तरमा तपाईँको मात्र घर रहेन । त्यो देशको आस्था र विश्वासको घर बन्यो । देशका हरेक मानिसहरूले त्यसलाई आफ्नै घर सम्झन थाले । त्यो तपाईँले बनाएको बालकोटको घर देशको शक्ति केन्द्र बन्यो । देशका नेता, राजनीतिक कार्यकर्ता, प्रशासक, कूटनीतिज्ञ, पत्रकार सबैको गन्तव्यको केन्द्र बन्यो । त्यो घर, देश विदेशमा चर्चाको विषय बन्यो । आमा, यहाँ म एउटा कुरा भन्छु है, मैले मेरो विद्यावारिधिको दौरानमा अमेरिकाका भूतपूर्व राष्ट्रपति बराक ओबामाको दश वर्षे शासनपछिको बिदाइ समारोहको भाषण सुनेको थिए ।

बाराकले आँखामा आँसु झार्दै आफ्नो बिदाइ भाषणमा आफनी पत्नी मिसेल ओबामालाईसम्बोधन गर्दै भनेका थिए । मिसेल, यु मेड अ ह्वाइट हाउस पिल्जर इभ्भरीवोडी । म आज भन्न चाहन्छु राधिका आमा, हामी अमेरिका होइनौ, हाम्रो बालकोट हवाइट हाउस पनि छोइन । तर तपाईँलाई केपी बा ले एक दिन भन्नु हुन्छ होला, उहाँले भन्नैपर्छ, राधिका, तिमीले बनाएको यो घर हरेक नेपालीहरूको, एमाले कार्यकर्ताहरूको साझा घर बनाएउ नि । हो आमा, साँच्चै दुष्टहरूले जलाएको त्यो तपाईँको मेहनत र पसिनाबाट बनेको घर हरेक नेपालीहरूको साझा घर नै त थियो।

आमा, सबैका घर निर्माणका आफ्नै कथा र व्यथाहरू छन् र होलान् । तर बालकोटमा तपाईँले बनाएको घर, जहाँ लाखौलाख मानिसहरूले पाइला टेके होलान् । हजारौँ मानिसहरूले त्यो घरका कोठाहरूबाट पाइँदाका पोकाहरू बोकेर निस्के होलान् । हिजो त्यो घरको गेटभित्र पस्नु मात्र मानिसहरूको गौरवको विषय थियो । तर आज दुर्जनहरूको आगोको सिकार बनेर भग्नावशेष बनेको त्यो घरको बारेमा चुँसम्म पनि बोल्दैनन् बरु उल्टो लाजघीन पचाएर त्यो खरानीको समर्थनका आवाजहरू बोल्न खोज्छन् । किन मान्छेहरू यति निर्लज्ज बनेर बलेको आगो मात्रै ताप्न खोज्छन् ? प्रश्नहरू सवैतर्फ तेर्सिएका छन् ।

प्रिय राधिका आमा, अराजकहरूले तपाईहरुले राज्यलाई सुम्पिइ सकेको त्यो बालकोटको घर मात्र जलाएका छैनन् । त्यो बालकोटको घरसँगै नेपालीहरूको आस्था जलाएका छन । हाम्रो आदर्श जलाएका छन । घरका हरेक भित्ताहरूमा सजाइएका देश विदेशबाट प्राप्त उपहार, सौजन्यहरू मात्र जलाइएका छैनन्, एउटा युगको सम्झना र इतिहास जलाइएका छन । त्यो घरमा के के थिए, त्यसको स्मरण तपाइलाई होला, तर त्यहाँका बहुमूल्य उपहार चोरी भएका छन । जलेकै भए कम्तीमा त्यसको खरानी त त्यहाँ हुुनुपथ्र्यो । तर त्यहाँ त त्यसको खरानी पनि छैन ।

पछिल्ला वर्षहरूमा बालकोट जति मानिसहरू पुगे, उनीहरूले देखेको हुनु पर्दछ । दुई वटा घरका भ¥याङदेखि हरेक कोठाका भित्ताहरूमा झुन्डिएका सौजन्य र उपहारहरू कुनै भौतिक बस्तु मात्र थिएनन् । यी देशभित्र र बाहिरका मानिसहरूले दिएको माया सम्मान र सम्झनाहरू थिए । नागरिक र केपी बाबिचका सम्बन्ध र सम्झनाका सेतुहरू थिए । केपी बा प्रति देश विदेशका नागरिकहरूको सम्मान सायद अर्को नेपालीले पाएको थिएन ।

आमा, ती सबै प्राप्त उपहारहरू आउँदो पुस्ताकालागि प्रेरणा बनुन भनेर तपाईले बर्सो मेहनत गरेर किला काँटी ठोकेर तिनीहरुको जतन गर्नुभएको थियो । आफ्नो जीवनपछि देशले उपयोग गर्नेगरि राज्यलाई सुम्पिएको यो घरमा एउटा कालखण्डको इतिहास तपाईँले तयार पार्नु भएको थियो । तर फटाहा र अराजकहरूले ती सबै सौजन्यहरूमा आगो लगाए । यहाँ आगो लगाउँदा केपी शर्मा ओलीको घर मात्रै जलेको थिएन, अराजकहरूले एउटा युगका अभिलेखहरू समेत जलाएका थिए ।

तर यत्रो इतिहास जल्दा पनि नागरिक मौन छ अहिले ? जलेका धरोहरहरू कहिले बन्छ भनेर नागरिक प्रश्न गर्दैन अहिले ? सरकार मौन छ, मानिसहरू त्रासदीपूर्ण मन बोकेर रमिता हेरिरहेका छन । आखिर यो समाज किन बोल्दैन आमा ? के मानिसहरूमा संवेदना हराएकै हो ?देशको सार्वभौमिकतामाथि थावा बोल्दा, खुलेर टीओवीहरु सडकमा निस्कँदा, मान्छेहरूका घर र देशका आस्थाका केन्द्र जलाउँदा पनि मान्छेहरू किन प्रश्न गर्दैैनन आमा ?

सुकुम्वासीहरूका घरमा डोजर जलाउँदा, लोकतान्त्रिक अधिकार भनेर खुलेका पेसागत सङ्गठनहरू बन्द गराउँदा समेत मानिसहरू किन हातमुख बन्द गरेर बसेका होलान् आमा ? देशमा रोजगार छैन, मानिसहरू आर्थिक सङ्कटमा छन् । सेवा सुविधालाई केन्द्रीकरण गर्न खोजिएको छ । तर पनि मानिसहरू किन चुपचाप छन आमा ? के नेपाली समाज मनोवैज्ञानिक त्रासमा फस्दै गएको हो ? के नेपाली समाज मूल्य विहीन समाज बन्दै गएको हो र मानिसहरू सामाजिक निराशाको रोगको सिकार बन्दै गएका हुन ? नभए त वीरता र गौरवले भरिएको यो नेपाली समाजले कम्तीमा प्रश्न त राख्नु पर्ने हो । तर मानिसहरू अराजकताको समर्थन गर्दै मौनताका मलामी बनिरहेका छन ।

आमा, अव तपाई बोल्ने बेला आएको छ, यी सुरक्षा, प्रशासनदेखि पार्टीभित्र स्वार्थका राजनीति गर्नेहरूका हर्कतबारे अर्थात यिनीहरुले लिएका फाइदाबारे तपाई एकपल्ट बोल्नै पर्दछ । तपाईँको आवाजबाट भ्रम र स्वार्थको इतिहास च्यातिने छ । नयाँ पुस्तालाई को कस्तो हो ? एउटा सत्यको पाठ पढाउनै पर्नेछ । त्यसैले राधिका आमा, अब तपाईँले स्वार्थ र फाइदाको पोका उठाउनेहरूका विरुद्ध एउटा पत्रकार सम्मेलन गरेर देशका अगाडि यिनीहरूको मुखुण्डो उतार्नु हुनेछ

मेरो प्रिय राधिका आमा, आज मलाई लागेको एउटा सत्य कुरा बोल्दछु । कुरो र कुलो जता लग्यो त्यतै जान्छ रे । हो, बालकोट पार्टीका नेता कार्यकर्ताहरूको साझा गन्तव्य थियो । हाम्रो केपी बा ले मान्छेहरूको भेटघाट कि त पार्टी कार्यालय, कि त बालकोट मै गर्नुभयो । पार्टीको अध्यक्षको हैसियतले उहाँले बालकोटमा कूटनीतिक नियोग देखी अन्य स्वदेशी तथा विदेशी मानिसहरूलाई त्यो तपाईले बनाएको घरमा नभेटेर कुनै महँगो होटेलमा भेटेको भए, त्यो विल पार्टीले तिर्नु पर्दथ्यो । कम्तीमा तपाईँले बनाइदिएको त्यो घर हरेक कूटनीतिक मानिस देखी देशी विदेशी मानिसहरूको भेटघाटको केन्द्र बन्यो । यो भेटघाटमा चिया चमिना पनि त खर्च भयो होला । के यो तपाईँले पार्टीलाई गरेका योगदान होइन र ?

राधिका आमा, हामी द्वन्द्वात्मक भौतिकवादका विद्यार्थी हौ । हामीलाई रातपछि दिन र दिनपछि रात आउँछ भन्ने कुरा राम्रोसँग थाहा छ । सत्य असत्य अग्लो, होचो, अँध्यारो, उज्यालो, कालो, सेतोको अस्तित्वको द्धन्द्धवादी नियम थाहा छ । आज देशको लोकतन्त्रको आस्थामाथि प्रहार हुँदा आफनाहरु आगोमाथि ध्यू थप्न खोजिरहेका छन् । तर भौतिक संरचनालाई खरानी बनाएर मानिसको इतिहास जलाउन सकिँदैन । केही थान पुस्तकहरू जलाएर मानिसको विचार जलाउन सकिँदैन ।

केही थान घर जलाउँदैमा मानिसको सङ्घर्ष र अस्तित्व जलाउन सकिँदैन । यो विदेशीको जुठोपुुरो खाएर उनीहरूको इसारामा राष्ट्रिय स्वाधीनतामाथि प्रहार गर्नेहरूले बुझनु पर्दछ । आमा, बैमानहरुले, देशघातीहरुले हाम्रो संरचना जलाए होला, तर हाम्रो विचार, हाम्रो अठोट र हाम्रो गन्तव्य जलाउन सक्ने छैनन् । यति वेला हाम्रो शक्ति भनेको त्यही खरानी हो । खरानी हाम्रो कसम हो । त्यही खरानीलाई मुठिठमा कसेर हामी उठ्ने छौ आमा । हामी उठेको दिन, देशलाई माया गर्ने देशभक्तहरू उठेको दिन जलाउनेहरूले देशमा बास समेत पाउने छैनन् ।

आदरणीय राधिका आमा, अङ्गेजीमा केही लेख्दा अन्त्यमा एट लास्ट वट नट लिष्ट भनेर अन्तिम प्याराग्राफ लेख्ने चलन छ । तर म तपाईँलाई लेखेको यो पत्रको अन्तिममा एउटा कुरा स्पष्ट भन्न चाहन्छु । तपाई केपी शर्मा ओलीको धर्मपत्नी मात्रै होइन । केपी शर्मा ओलीको जीवनको आरोह अवरोधको एउटा सजीव यात्री पनि हुनुहुन्छ । बालकोट, बालुवाटार र पछिल्लो अवधिमा गुण्डुका हरेक कोठाहरूमा केपी शर्मा ओलीसँग संवाद, सहकार्य, पाइदा बेफाइदाका भलाकुसारीहरूको प्रत्यक्षदर्शी नेपालमा कोही छ भने त्यो तपाई मात्रै हुनुहुन्छ ।

स्वार्थको पोका बोक्नेहरू आज कुन हैसियतमा केपी शर्मा ओलीको आलोचना गर्दछन् ? आफ्नो स्वार्थ पुरा गर्न, आफ्नो पदीय हैसियत कायम गर्न, मन्त्री बन्न, कसले के मात्र गरेनन्, त्यसको जीवन्त साक्षी त तपाई हुनुहुन्छ आमा । देशका प्रशासनिक निकायका मान्छेहरू, सुरक्षा अङ्गका मान्छेहरू आफ्नो स्वार्थ पुरा गर्न के के सम्म गर्न सक्छन, त्यसको एक मात्र गवाही तपाई हुनुहुन्छ आमा । आज पार्टीभित्र र बाहिरबाट हाम्रो आस्था र विश्वासको धरोहर केपी शर्मा ओलीमाथि जुन आरोप र प्रहार छ, ती फाइदाका पोखा पन्त्यौरा बोक्नेहरूबाटै छ ।

आमा, अव तपाई बोल्ने बेला आएको छ, यी सुरक्षा, प्रशासनदेखि पार्टीभित्र स्वार्थका राजनीति गर्नेहरूका हर्कतबारे अर्थात यिनीहरुले लिएका फाइदाबारे तपाई एकपल्ट बोल्नै पर्दछ । तपाईँको आवाजबाट भ्रम र स्वार्थको इतिहास च्यातिने छ । नयाँ पुस्तालाई को कस्तो हो ? एउटा सत्यको पाठ पढाउनै पर्नेछ । त्यसैले राधिका आमा, अब तपाईँले स्वार्थ र फाइदाको पोका उठाउनेहरूका विरुद्ध एउटा पत्रकार सम्मेलन गरेर देशका अगाडि यिनीहरूको मुखुण्डो उतार्नु हुनेछ भन्ने विश्वास सहित तपाईसँगको यो मेरो पहिलो पत्र यही टुङ्ग्याउछु ।