जनता टाइम्स

२ पुष २०७६, बुधबार ०९:०६

लागू औषध कारोवारीको ध्यान नेपालतिर, दश करोड मुल्य बरावरको कोकिनसहित बोलेभियन महिला पक्राउ


काठमाडौं, पुस २ । करिव १० करोड मुल्य बरावरको अबैधलागूऔषध कोकिनसहित एक जना बिदेसी महिला पक्राउ परेकी छन । नेपाली बजारलाई लक्षित गरेर काठमाडौं भित्र्याइएको तीन किलो कोकिनसहित प्रहरीले एक बोलिभियन महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४१ वर्षीया हेरा आर्तेगा हुन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएका प्रहरी टोलीले उनलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। उनी ब्राजिलबाट दुबई हुँदै काठमाडौं उत्रिएकी थिइन् । प्रहरीका अनुसार ज्याकेटमा फल्स बटन बनाई उनले कोकिन ल्याएकी थिइन ।

ब्युरोका एसएससपी वसन्त लामाले बरामद लागुऔषध काठमाडौंमै खपत हुने उद्देश्यले ल्याइएको बताउनुभयो । तर, उनले कसका लागि ल्याएको हो भन्ने तथ्य खुलिसकेको छैन । ‘ज्याकेटभित्र फल्स बनाई तीन किलो कोकिनसहित पक्राउ परेकी महिलाले काठमाडौंमा कसैलाई जिम्मा दिने उद्देश्यले लागुऔषध ल्याएको बताएकी छिन् । तर, ती व्यक्ति को हुन्, त्यसको सम्बन्धमा भने केही खुलेको छैन । अनुसन्धान जारी छ,’ एसएसपी लामाले भन्नुभयो । प्रहरीका अनुसार अवैध बजारमा कोकिन प्रतिग्राम न्यूनतम ३५ हजार रुपैयाँमा बिक्छ । यस आधारमा बरामद कोकिनको मूल्य १० करोड पचास लाख रुपैयाँ हुन्छ ।

यसअघि प्रहरीले अवैध कोकिनसहित आइभोरिकोस्टका नागरिक मार्केल गुही र बाज्रिलियन नागरिक सर्गिओ त्रुसलाई पक्राउ गरेको थियो । पक्राउमध्ये गुहीबाट एक किलो ६ सय ग्राम र त्रुसबाट दुई किलो एक सय ग्राम कोकिन बरामद भएको थियो । बरामद कोकिनको मूल्य १२ करोड ९५ लाख रुपैयाँ पर्छ ।