जनता टाइम्स

९ असार २०८३, मंगलवार ०९:३७

कतारको विष्फोटमा नेपाली पनि घाइते


काठमाडौं,  असार  ९ ।  कतारको रस लाफान औद्योगिक क्षेत्रभित्रको ग्यास उत्पादन केन्द्रमा आइतबार भएको विष्फोटमा नेपालीहरु पनि घाइते भएका छन् ।विस्फोटमा १२ भारतीय र एक पाकिस्तानी गरी १३ जनाको मृत्यु भएको थियो । उक्त घटनामा ६६ जनाभन्दा बढी घाइते भएका छन् ।घाइते हुनेहरुमा नेपालीसहित कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिकहरु पनि रहेका छन् । उनीहरुको उपचार जारी छ । तर घाइतेहरुको नामावली सार्वजनिक भएको छैन ।ग्यास प्लान्टमा भएको विष्फोटबाट भएको मृत्यु र घाइतेहरुको जानकारी सोमबार कतारका ऊर्जा मन्त्री साद अल–काबीले दिएका हुन् ।

दोहास्थित भारतीय दूतावासले ‘एक्स’ मा पोस्ट गर्दै रस लाफान घटनामा १२ भारतीय नागरिकको ज्यान गएको पुष्टि गरेको छ । दूतावासले कतारी अधिकारीहरूलाई उद्धृत गर्दै सबै घाइतेहरूको अवस्था स्थिर रहेको र उनीहरूले उपयुक्त उपचार पाइरहेको जानकारी दिएको छ ।कतारका ऊर्जा मन्त्री साद अल–काबीले यो घटनालाई आक्रमण नभई ‘दुर्घटना’ भनेका छन् । ‘दुर्घटना हो, तोडफोड वा शत्रुतापूर्ण गतिविधि होइन,’ उनले भनेका छन् ।विगतमा पश्चिम एसिया युद्धका क्रममा इरानले खाडी क्षेत्रका ऊर्जा संरचनामा आक्रमण गर्ने क्रममा यसअघि रस लाफान क्षेत्रमा आक्रमण हुँदा क्षति पुगेको थियो । जसका कारण कतारले ग्यास उत्पादन अस्थायी रूपमा रोक्नु परेको थियो ।

सोमबार पनि विष्फोट र आगलागीको घटनाले आक्रमणको आशंका गरिएको थियो । तर कतार सरकारले आक्रमण नभएको स्पष्ट पारेको छ ।विस्फोटको आवाज ६४ किलोमिटर टाढा दोहा शहरसम्म महसुस गरिएको थियो । प्रत्यक्षदर्शीका अनुसार विष्फोटपछि ठूलो आगोको ज्वाला र बाक्लो धुवाँ उडेको थियो । आइतबार राति नै आगो नियन्त्रणमा लिइसकिएको छ ।ऊर्जा मन्त्रीका अनुसार यस घटनाले निर्यात वा स्थानीय आवश्यकतामा कुनै असर पार्ने छैन । उनले वातावरणीय प्रभाव पनि नभएको बताएका छन् ।