जनता टाइम्स

९ असार २०८३, मंगलवार २०:०६

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किएको रक्षा बमको टिप्पणी


काठमाडौं, ९ असार । जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसमा शक्तिको मात र अहंकार झल्किएको टिप्पणी गर्नुभएको छ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै बमले रास्वपाको महाधिवेशनमा अतिथिका रूपमा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूप्रति सुनारले व्यक्त गरेको टिप्पणी लोकतान्त्रिक मूल्य र सभ्य राजनीतिक संस्कारअनुकूल नरहेको बताउनुभएको हो।

उहाँले विचार, सिद्धान्त र राजनीतिक दृष्टिकोण फरक हुन सक्ने भए पनि अतिथिको सम्मान गर्नु सभ्यता, संस्कार र लोकतान्त्रिक अभ्यासको आधारभूत पक्ष भएको उल्लेख गर्नुभएको छ। असहमति राख्ने अधिकार सबैलाई भए पनि कसैलाई अपमान गर्ने अधिकार नभएको उहाँको भनाइ छ।

बमले फरक विचार राख्ने व्यक्तिप्रति असहिष्णुता बढाउने खालका अभिव्यक्तिले नयाँ पुस्तामा गलत सन्देश प्रवाह गर्ने बताउनुभएको छ। यस्ता अभिव्यक्तिले स्वस्थ राजनीतिक बहसको सट्टा विभाजन र कटुतालाई प्रोत्साहन गर्ने उहाँको तर्क छ।

साथै, उहाँले यस्ता प्रवृत्तिलाई सामान्य रूपमा लिन नहुने उल्लेख गर्दै लोकतान्त्रिक संस्कार र राजनीतिक मर्यादा जोगाउन रास्वपाका नेता–कार्यकर्ता तथा समर्थकहरूलाई सचेत रहन आग्रह गर्नुभएको छ।