काठमाडौं, असार ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीप्रति पार्टीको समर्थन रहेको बताउनुभएको छ। रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत मंगलबार बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उहाँले स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारी सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यक रहेको धारणा राख्नुभएको हो।
प्रतिवेदनमा संविधान संशोधनबारे पार्टीको स्पष्ट दृष्टिकोण प्रस्तुत गर्दै लामिछानेले संविधान निर्माणकै क्रममा एक दशकपछि यसको समीक्षा र परिमार्जनको सम्भावना खुला राखिएको स्मरण गराउनुभयो। उहाँले संविधानका उपलब्धि, कमजोरी र नागरिकले अपेक्षा गरेका सुधारबारे खुला, इमानदार र जिम्मेवार बहस आवश्यक रहेको बताउनुभयो।
रास्वपाले हालको निर्वाचन प्रणाली महँगो र जटिल बन्दै गएको निष्कर्ष निकाल्दै पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा रहेको जनाएको छ। यसबाट सबै समुदाय र वर्गको समुचित प्रतिनिधित्व सुनिश्चित हुने विश्वास पार्टीले व्यक्त गरेको छ।
राजनीतिक प्रतिवेदनमा हालको **राष्ट्रिय सभा**लाई गैरदलीय विशेषज्ञहरूको सभाका रूपमा रूपान्तरण गर्ने तथा उपराष्ट्रपतिलाई सभाअध्यक्षको भूमिका दिने प्रस्ताव पनि अघि सारिएको छ। साथै प्रदेशसभा र प्रदेश सरकारको संरचनाबारे पुनर्संरचनाको आवश्यकता औँल्याइएको छ।
संविधान संशोधन कुनै दलगत वा संकुचित राजनीतिक स्वार्थबाट निर्देशित हुन नहुने उल्लेख गर्दै लामिछानेले राष्ट्रको दीर्घकालीन आवश्यकता, जनताको अनुभव र लोकतान्त्रिक अभ्यासलाई आधार बनाउनुपर्ने बताउनुभयो। संविधानलाई न त अपरिवर्तनीय दस्तावेजका रूपमा हेर्न मिल्ने, न त हरेक राजनीतिक परिवर्तनसँगै फेरिरहनुपर्ने दस्तावेजका रूपमा लिनुपर्ने उहाँको भनाइ छ।
उहाँले सुशासन, स्थायित्व, प्रतिनिधित्व र नागरिक हितलाई संविधान संशोधनको प्रमुख आधार बनाउनुपर्ने धारणा राख्दै व्यापक राष्ट्रिय संवाद, विज्ञहरूको सुझाव, नागरिक सहभागिता तथा सम्भव भएसम्म सर्वदलीय सहमतिमार्फत अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।













प्रतिक्रिया दिनुहोस्