जनता टाइम्स

३ पुष २०७६, बिहीबार १६:०७

महमोहन कार्डियोथेरासिकमा प्रधानमन्त्री ओलीको नियमित डायलासिस, चिकित्सकले दिए यस्तो जानकारी


काठमाडौं, पुस ३ । प्रधानमन्त्री केपी ओलीले आज महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा नियमित डायलासिस गराउनु भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली नियमित डायलासिसका लागि केही समय अघि अस्पताल पुग्नुभएको हो । उहाँको अहिले डायलासिस भइरहेको चिकित्सकले जनाएका छन ।

प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि नियमित डायलासिस सुरु भएको छ । ग्रान्डी इन्टरनेसनल अस्पतालमा चार पटकसम्म डायलासिस गरेपछि मनमोहन कार्डियोथेरासिक सेन्टरमा प्रधानमन्त्री ओलीको नियमित डायलासिस भइरहेको छ । प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको थियो । दुवै मिर्गौलाले राम्रोसँग काम नगर्दा सातामा दुई वा तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ । तर, प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआइसकेका कारण असहज महसुस भए मात्र डायलासिस गरिँदै आएको छ । गत कात्तिक १३ र १४ गते उहाँको चौबिस घण्टामा दुईपटक डायलासिस गरिएको थियो ।

प्रधानमन्त्री ओलीको ०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछि उहाँले नियमित औषधि सेवन गर्दै आउनुभएको छ । गत १८ साउन र भदौ ५ गते सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको थियो । सो क्रममा उहाँको प्लाज्माफेरेसिस पद्धतिबाट शरीरमा बढेको एन्टिबडी नष्ट गरिएको थियो । १२ वर्षअघि मिर्गौला फेल भएपछि प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको अन्य स्वास्थ्य अवस्था भने राम्रो रहेको चिकित्सकले जनाएका छन ।

प्रत्यारोपण गरिएको मिर्गौलाले पिसाबबाट फोहोर निष्कासन गर्न नसकेपछि मेसिनको सहयोग लिएर गरिने फोहोर निष्कासन गर्ने पद्धति नै डायलासिस हो । मेसिनको सहायताले रगतमा भएको फोहोर तत्व र आवश्यकभन्दा बढी रहेको नुनपानी फालेर रक्तचापलाई नियन्त्रणमा राख्न डायलासिस हुन्छ । डायलासिसपछि प्रधानमन्त्री आजै निवास फर्कनुहुने प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।