काठमाडौं, असार १५। सरकारले नागरिकको जलविद्युत् कार्यक्रममार्फत अगाडि बढाएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माण कार्य शुरू भएको छ । मुख्य निर्माण व्यवसायीसँग सम्झौता भएसँगै काम अगाडि बढेको जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिनुभयो ।
१०६ मेगावाट क्षमताको यो आयोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण हुने देशकै नमूना परियोजना हो ।
कम्पनीले जगदुल्ला र जगदुल्ला– ‘ए’ दुवै आयोजनाबाट कुल २३० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । डोल्पाको जगदुल्ला तथा मुड्केचुला गाउँपालिका क्षेत्रमा दुई अर्धजलाशययुक्त आयोजना निर्माण भइरहेको हो ।
आयोजनाले विद्युत् उत्पादनका साथसाथै डोल्पाको पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याइसकेको छ । भेरी नदीमाथि १०० मिटर लामो पक्की पुल निर्माण, सडक ट्र्याक र १० वटा बेलिब्रिजको जडानले स्थानीय बासिन्दाको जीवनयापनमा निकै सहजता आएको छ । नेपालगञ्जबाट डोल्पा पुग्न ३ दिनभन्दा धेरै लाग्ने यात्रा अब एकैदिनमा सम्भव भएको छ ।
आयोजना सञ्चालनपछि सङ्घ, प्रदेश र पालिकाले वार्षिक झन्डै ३८ करोड रुपैयाँ रोयल्टी पाउनेछन् । आयोजनामा झन्डै १६ अर्ब ६६ करोड रुपैयाँ स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी जुटाइएको छ ।













प्रतिक्रिया दिनुहोस्