जनता टाइम्स

४ पुष २०७६, शुक्रबार १७:३८

मोदीलाई झडका, बलात्कार मुद्दामा अदालतले सुनायो भाजपाका सांसदलाई आजीवन कारावासको सजाय


नयाँदिल्ली, पुस ४ । भारतीय सांसद कुलदीप सेंगरलाई बलात्कार अभियोगमा दोषी ठहर गर्दै अदालतले आजीवन कारावास सजाय सुनाएको छ । भारतीय जनता पार्टीका नेता समेत रहेका सेंगरलाई शुक्रबार दिल्ली अदालतले आजीवन जेलसहित २५ लाख जरिवाना तोकेको हो । २०१७ मा उत्तर प्रदेशको उन्नाओस्थित कानुन क्याम्पसकी छात्रामाथि बलात्कार गरेको अभियोग उनीमाथि थियो ।

जिल्ला न्यायाधीश धर्मेश शर्माका अनुसार कुलदीपले एक महिनाभित्रै २५ लाख जरिवाना बुझाउनु पर्नेछ । सेंगरले एक सार्वजनिक सेवकको रुपमा जनताको विश्वासलाई धोका दिए । उनले परिस्थितिलाई न्युनिकरण गरेको पाइएन,’ न्यायाधीशले उनको निवेदन अस्वीकार गर्दै भने ।

यस्तै अदालतले पीडितका परिवारलाई सेंगरले १० लाख रकम थप क्षतिपुर्ति दिनुपर्ने बताएको छ । सेंगरसँगै अर्का आरोपी शशी सिंहलाई अदालतले निर्दोष सावित गरेको छ । दिल्लीस्थित हजारी अदालतले सेंगरमाथि फैसला सुनाएको हो । यसअघि पीडितले सेंगरविरुद्ध लखनउ अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

तीन वर्षसम्म मुद्दा छिनोफानो नभएपछि पीडित युवातीले आत्मदाह गर्ने चेतावनी दिएपछि सेंगरमाथिको मुद्दाले तिव्रता पाएको हो । अभियुक्त सेंगरलाई राज्यले नै संरक्षण दिएको आरोप पीडित युवतीको थियो । न्यायका लागि तीन वर्षको संघर्षको दौरानमा पीडितका बावुको शंकास्पद रुपमा मृत्यु भएको थियो । पीडितमाथि पनि बारम्बार ज्यान मार्ने धम्की आएपछि ज्यान रक्षाको लागि आग्रह गरेकी थिइन् ।