काठमाडौं, असार २९। अविरल वर्षापछि सिन्धुपाल्चोकको कोदारीस्थित इको क्षेत्रमा सडक भासिँदा नेपाल–चीन जोड्ने तातोपानी नाका पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक क्षतिग्रस्त भएपछि सवारी आवागमन बन्द हुनुका साथै भन्सार प्रक्रिया पनि प्रभावित बनेको छ।
भोटेकोशी गाउँपालिका–२ अन्तर्गत पर्ने इको क्षेत्रमा करिब दुई मिटर सडक भासिएपछि सोमबारदेखि तातोपानी नाका ठप्प भएको हो। सडक अवरुद्ध हुँदा चीनबाट भन्सार प्रक्रिया पूरा गर्न नेपालतर्फ आउँदै गरेका दर्जनौँ मालवाहक कन्टेनर लिपिङ क्षेत्रमा रोकिएका छन्।
भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार सडक डिभिजन कार्यालय चरिकोटसँग समन्वय गरेर सडक खुलाउने प्रयास भइरहेको छ। तर निरन्तर वर्षा भइरहेकाले मर्मत कार्यमा कठिनाइ भइरहेको उहाँले बताउनुभयो।
तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेका अनुसार सडक अवरुद्ध भएपछि भन्सारको कामकाज पनि ठप्प बनेको छ। वर्षा नरोकिएकाले सडक कहिले सञ्चालनमा आउँछ भन्ने यकिन गर्न नसकिने उहाँले जानकारी दिनुभयो।
बर्खायाममा इको क्षेत्र बारम्बार पहिरो र सडक भासिने समस्याबाट प्रभावित हुँदै आएको छ। आइतबार पनि लिपिङ क्षेत्रमा पहिरो खस्दा एउटा मालवाहक कन्टेनरमा क्षति पुगेको थियो।
नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका अध्यक्ष अर्जुनबहादुर सापकोटाले इको क्षेत्रको पहिरो नियन्त्रणका लागि चिनियाँ अनुदान प्राप्त भए पनि निर्माण कार्य समयमै सुरु हुन नसक्दा यस वर्ष पनि व्यापार र आवागमन प्रभावित हुने अवस्था सिर्जना भएको बताउनुभयो।
स्थानीयका अनुसार इको पहिरोमाथि करिब १७५ घरपरिवार बसोबास गर्दै आएका छन्। भोटेकोशी नदीले निरन्तर कटान गर्दै आएकाले पहिरो नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ। बर्खायाममा पटक–पटक सडक अवरुद्ध हुँदा नेपाल–चीनबीचको आयात–निर्यात व्यापार र यात्रु आवागमनमा हरेक वर्ष ठूलो असर पर्ने गरेको छ।













प्रतिक्रिया दिनुहोस्