जनता टाइम्स

२९ बैशाख २०७६, आईतवार १२:३७

प्रदेश राजधानी घोषणा गर्ने अधिकार पार्टीलाई होइन जनतालाई छः पूर्वसभामुख घर्ती


बुटवल, बैशाख २९

पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्तीले पार्टीको एकलौटी निर्णयमा प्रदेशको राजधानी घोषणा नगर्ने बताउनुभएको छ । प्रदेश राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पार्दै उहाँले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामकरणको टुङ्गो लगाउने बताउनुभयो ।

रिपोटर्स क्लब नेपाल प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा उहाँले प्रदेशसभाका सदस्यले जनताको राय लिएर मात्रै राजधानीको टुङ्गो लगाउने धारणा राख्नुभयो । मुलुक नयाँ संरचनाको अभ्यासमा रहेकाले प्रदेश राजधानीको टुङ्गो लाग्न समय लागेको उहाँको भनाइ थियो। अध्यक्ष घर्तीले नेपालको साधन स्रोतमा नेपाली जनतालाई मालिक बनाउने प्रयास स्वरुप सरकारले नीति कार्यक्रम सार्वजनिक गरेको बताउनुभयो ।

उहाँले पार्टीभित्र कुनै समस्या नरहे पनि शान्ति र स्थायित्व नचाहनेले अनावश्यक हल्ला चलाउने गरेको तर्क गर्नुभयो । सरकारले ल्याएको मिडिया विधेयकबारे पत्रकारले राखेको जिज्ञासामा उहाँले मिडियामाथि अंकुश लगाउने सरकारको नियत नभएको बताउनुभयो । उहाँले पत्रकारले स्वतन्त्रपूर्वक काम गर्न पाउनुपर्ने भन्दै विधेयक त्रुटीपूर्ण भए सच्याएर जान सकिने बताउनुभयो ।