काठमाडौं, साउन १३ । सुनसरीका विभिन्न स्थानीय तहमा जारी गरिएको कर्फ्यु आदेश अर्को सूचना जारी नभएसम्मका लागि यथावत रहने भएको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार मध्यराति सूचना जारी गर्दै सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कर्फ्यु आदेश निरन्तर कायम रहने जनाएको हो।
प्रशासनका अनुसार इटहरी उपमहानगरपालिका वडा नं. १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका वडा नं. १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका र दुहबी नगरपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यु लागू गरिएको छ।
यस्तै भोक्राहा नरसिंह, कोसी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा पनि कर्फ्यु आदेश जारी रहेको प्रशासनले जनाएको छ।
कर्फ्यु अवधिभर कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउजस्ता गतिविधि गर्न रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश उल्लंघन गर्ने जो–कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।














प्रतिक्रिया दिनुहोस्