जनता टाइम्स

१३ श्रावण २०८३, बुधबार ०८:४१

आज पनि देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह


काठमाडौं,  साउन १३ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। सुदूरपश्चिम प्रदेशका तराईका एक/दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

विभागका अनुसार आज हिमाली र पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि सामान्यतया बदली रहनेछ। कोसी र मधेस प्रदेशका तराई भूभागमा भने आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ।

देशका पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। हिमाली क्षेत्रका केही स्थानमा भने मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ।

हाल देशभर मनसुनी वायु सक्रिय रहेको र मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेकाले वर्षाको गतिविधि जारी रहने मौसमविद्को भनाइ छ।

विभागले भारी वर्षा हुन सक्ने क्षेत्रमा बाढी, पहिरो, डुबान तथा नदी–नालामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।