जनता टाइम्स

१४ श्रावण २०८३, बिहीबार ०७:४२

आन्दोलन फिर्ता लिएसँगै अस्पतालका सबै सेवा नियमित


काठमाडौं,  साउन १४ ।  नेपाल चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएसँगै आजदेखि देशभरका अस्पतालमा नियमित रूपमा सबै स्वास्थ्य सेवा सञ्चालन भएका छन्।

सरकार र आन्दोलनरत चिकित्सकबीच बुधबार साँझ सहमति भएपछि चिकित्सक संघले आन्दोलन फिर्ता लिएको हो। स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र चिकित्सक संघबीच भएको वार्तामा पाँचबुँदे सहमति भएपछि अस्पतालका सेवा पूर्ववत् सञ्चालनमा आएका हुन्।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। संघको आह्वानमा मंगलबार र बुधबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरिएको थियो।

सहमति भएसँगै आजदेखि ओपीडी, नियमित उपचार, परीक्षण तथा अन्य स्वास्थ्य सेवा पनि सञ्चालनमा आएका छन्।