काठमाडौं, साउन १४ । देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर आसपास र पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेकाले वर्षाको सम्भावना देखिएको हो।

विभागका अनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
कोसी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।
रातिसमेत देशभर सामान्य बदली रहनेछ। हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
राति कोसी प्रदेशका पहाडी तथा तराई भूभाग साथै वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्