जनता टाइम्स

१५ श्रावण २०८३, शुक्रबार ०८:१७

‘हाम्रो आपसी सम्बन्ध र भाइचारामा दरार नआओस्’ : गगन थापा


काठमाडौं,  साउन १५ । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज घटनापछि तराईका विभिन्न जिल्लामा देखिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले देवानगञ्ज घटनामा जयप्रकाश मेहता, ओमप्रकाश मेहता र सिरहामा गणेश यादवको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले घटनाप्रति सरकारको असंवेदनशीलता थप चिन्ताको विषय बनेको बताउनुभयो ।

थापाले घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन माग गर्नुभएको छ । बल प्रयोगको दुरुपयोग गर्ने तथा आगजनी र हिंसामा संलग्न हुने सबैलाई कानुनअनुसार कारबाही हुनुपर्ने उहाँको भनाइ छ ।

यो विषय संघीय सरकारसँगै प्रदेश सरकारसँग पनि सम्बन्धित रहेको भन्दै थापाले मधेश प्रदेशका मुख्यमन्त्रीसँग छलफल भएको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारलाई पनि आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गर्नुभयो ।

सामाजिक सञ्जालमार्फत झुटा सूचना, अफवाह र उत्तेजना फैलाउने गतिविधिबाट टाढा रहन आग्रह गर्दै थापाले सडकमा रहेका युवालाई संयमित र सकारात्मक भूमिका निर्वाह गर्न अपिल गर्नुभयो ।

“हिंसाको जवाफ हिंसाले होइन, कानुनी प्रक्रियाले दिनुपर्छ,” थापाले भन्नुभएको छ । उहाँले समुदायबीच विभाजन ल्याउन खोज्ने तत्वलाई असफल पार्दै सामाजिक सद्भाव र आपसी विश्वास जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

“कसैको घर–सम्पत्ति नजलोस्, हाम्रो आपसी सम्बन्ध र भाइचारामा दरार नआओस्,” उहाँले भन्नुभएको छ ।