काठमाडौं, साउन १६ । वैशाखदेखि साउन १५ गतेसम्म देशभर भएका विभिन्न विपद्का घटनामा १९३ जनाको मृत्यु भएको छ भने १ हजार १८५ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी सर्पदंशका कारण ५३ जनाले ज्यान गुमाएका छन्। सर्पदंशका घटनामा १३२ जना घाइते भएका छन्।
प्राधिकरणका तथ्यांकअनुसार चट्याङ लागेर २५ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन्। लेक लागेर २२ जनाको मृत्यु हुँदा ३६ जना घाइते भएका छन्।
पहिरोका घटनामा २० जनाको मृत्यु, एक जना बेपत्ता र २९ जना घाइते भएका छन्। आगलागीमा १९ जनाको मृत्यु तथा १३४ जना घाइते भएका छन्।
जनावरको आक्रमणबाट १७ जनाको मृत्यु भएको छ भने ११९ जना घाइते भएका छन्। बाढीका घटनामा १४ जनाको मृत्यु, तीन जना बेपत्ता र १० जना घाइते भएका छन्।
त्यसैगरी, हावाहुरीबाट १३ जनाको मृत्यु र ६८ जना घाइते भएका छन्। भारी वर्षाका कारण चार जनाको मृत्यु तथा सात जना घाइते भएका छन् भने डुंगा पल्टिँदा दुई जनाले ज्यान गुमाएका छन्।
वन डढेलो, हिमपहिरो र विस्फोटका घटनामा एक–एक जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार विपद्का कारण देशका अधिकांश जिल्लामा जनधनको क्षति पुगेको छ। बाढी र पहिरोका कारण घरबार गुमाएर ५ हजार ११६ भन्दा बढी परिवार प्रत्यक्ष रूपमा विस्थापित भएका छन् भने चार जना अझै बेपत्ता रहेका छन्।













प्रतिक्रिया दिनुहोस्