काठमाडौं, साउन १७ । सुनसरीको देवानगन्ज–३, कप्तानगन्जमा भएको घटनापछि अशान्त बनेको तराई–मधेशको जनजीवन बिस्तारै लयमा फर्कन थालेको छ । सरकार, विपक्षी दल, नागरिक समाज, सामाजिक संघसंस्था, विभिन्न धर्मका गुरु र स्थानीय समुदायको सर्वपक्षीय पहलपछि तनाव कम हुँदै गएको छ । सुनसरी, सिरहा, सप्तरी, धनुषा, पर्सा लगायतका ठाउँमा सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको छ भने ठाउँठाउँमा सद्भाव र्याली र आपसी संवादले निरन्तरता पाएको छ ।
नेपालगन्ज, हेटौंडालगायतका विभिन्न ठाउँमा हिजो सद्भाव र्याली निकालिएको छ । आज सुनसरी, सप्तरीलगायतका विभिन्न ठाउँमा सद्भाव र्याली निकाल्ने तयारी छ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा लगाउँदै आएको निषेधाज्ञा हटाएको छ ।
सिरहाको गोलबजार घटनाका पीडित परिवार र सरकारबीच आठबुँदे सहमति भएपछि मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेसँगै केही दिनदेखि आन्दोलनरत सङ्घसंस्थाहरूले आफ्ना सबै विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन् ।
आन्दोलन स्थगित भएसँगै वीरगञ्ज तथा आसपासका क्षेत्रको जनजीवन, बजार, उद्योगधन्दा र यातायात सेवा पुनः नियमित बन्दै गएको छ । कप्तानगन्जमा प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवाको शव घटनाको पाँच दिनपछि परिवारले बुझेर अन्त्येष्टि गरेसँगै जनजीवन सामान्य बन्दै गएको छ ।













प्रतिक्रिया दिनुहोस्