जनता टाइम्स

१७ श्रावण २०८३, आईतवार ०७:३४

सप्तरीमा कर्फ्यु कायमै, ४ घण्टाका लागि अत्यावश्यक सामग्री खरिद गर्न छुट


काठमाडौं, साउन १७  । सप्तरीमा जारी कर्फ्यु आदेश कायमै राख्दै जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ७ बजेदेखि ११ बजेसम्म अत्यावश्यक दैनिक उपभोग्य सामग्री खरिद–बिक्रीका लागि कर्फ्यु खुकुलो बनाएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार तोकिएको समयपछि कर्फ्यु आदेश पूर्ण रूपमा लागू हुनेछ। प्रशासनले सर्वसाधारणलाई कर्फ्युको पालना गर्दै शान्ति–सुरक्षा कायम राख्न आग्रह गरेको छ।

प्रशासनको पूर्वस्वीकृति लिएर सद्भाव र्‍याली आयोजना गर्नका लागि पनि कर्फ्यु आदेशमा आंशिक सहुलियत दिइएको जनाएको छ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले तोकिएको समयभित्र हुलदंगा, अशान्ति फैलाउने वा अन्य कुनै उद्देश्यले पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला भई उच्छृङ्खल गतिविधि गरेको पाइए कानुनबमोजिम कारबाही गरिने चेतावनी दिनुभएको छ।

सप्तरीको बोदेबरसाइन क्षेत्रमा गत साउन १४ गते राति १० बजेदेखि तथा राजविराज क्षेत्रमा साउन १५ गते बिहान ८ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो। हाल जिल्लाको शान्ति–सुरक्षा अवस्थालाई ध्यानमा राख्दै कर्फ्यु आदेशलाई निरन्तरता दिइएको प्रशासनले जनाएको छ।