जनता टाइम्स

१७ श्रावण २०८३, आईतवार ०७:३७

गोठाटारमा भीषण आगलागी, काठ गोदामसहित १४ व्यवसायिक सटरमा क्षति


काठमाडौं,  साउन  १७ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ गोठाटारस्थित पहेँलोपुल नजिक शनिबार राति भएको आगलागीबाट काठको गोदामसहित १४ वटा व्यवसायिक सटरमा क्षति पुगेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राति करिब ९ः१५ बजे रविन्द्र भट्टराईले सञ्चालन गर्नुभएको काठको गोदाम तथा सटरमा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनालगत्तै जिल्ला प्रहरी परिसर काठमाडौं, सशस्त्र प्रहरी बल तथा विपद् व्यवस्थापन टोलीका गरी १७५ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो। आगो नियन्त्रणका लागि ९ वटा दमकल, ३ वटा पानी ट्यांकर र स्थानीयवासीको समेत सहयोग लिइएको प्रहरीले जनाएको छ। करिब राति ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।

आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९ का ३७ वर्षीय नरेश थापा टहराको जस्ताबाट खस्दा घाइते हुनुभएको छ। उहाँलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर, सुन्धारा पठाइएको छ। प्रहरीले उहाँको अवस्था मध्यम रहेको जनाएको छ।

आगलागीबाट काठ उद्योग, फर्निचर, अटो रिकन्डिसन, हार्डवेयर, मोबाइल, हेल्मेट, रङ, मिठाई, चिया, किराना, कस्मेटिक, स्टेशनरीलगायत गरी १४ वटा व्यवसायिक सटरमा क्षति पुगेको छ।

प्रहरीले आगलागीबाट भएको क्षतिको यकिन विवरण मुचुल्का प्रक्रिया सम्पन्न भएपछि सार्वजनिक गरिने जनाएको छ। घटनाको कारण र क्षतिको विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।