काठमाडौं, साउन १७ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा कानुनी शासनलाई थप सुदृढ बनाउन सबै पक्षले संयमता अपनाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ।
आइतबार तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले विविधताबिचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव नै राष्ट्रिय एकताको मुख्य आधार भएको बताउनुभयो।
पूर्वराष्ट्रपति भण्डारीले संवेदनशील परिस्थितिमा अफवाह, घृणा र विभाजन फैलाउने प्रयासबाट टाढा रहँदै सबै पक्षले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
उहाँले स्वर्गीय तुलसीलाल अमात्यको योगदानको स्मरण गर्दै लोकतन्त्र स्थापनाका लागि योगदान पुर्याउने अग्रज नेताहरूका आदर्श, विचार र मूल्यलाई आत्मसात् गर्दै अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। आज प्राप्त लोकतान्त्रिक उपलब्धिका पछाडि अमात्यजस्ता अग्रजहरूको लामो सङ्घर्ष, त्याग र समर्पण रहेको उल्लेख गर्दै उहाँले उहाँहरूको स्मरण गर्नु भनेको केवल इतिहास सम्झनु मात्र नभई उहाँहरूले स्थापित गर्नुभएको आदर्श र मूल्यलाई व्यवहारमा उतार्नु पनि भएको बताउनुभयो।
कार्यक्रममा बोल्दै माधवकुमार नेपाल ले मुलुकको अस्तित्व र स्वाभिमानको रक्षा अहिलेको सबैभन्दा ठुलो चुनौतीका रूपमा रहेको बताउनुभयो। उहाँले नेपाली जनताको ठुलो त्याग र बलिदानबाट प्राप्त संविधान, लोकतन्त्र, गणतन्त्र तथा संघीय व्यवस्थाको संरक्षण गर्नु सबैको साझा दायित्व भएको स्पष्ट पार्नुभयो।
पूर्वप्रधानमन्त्री नेपालले तुलसीलाल अमात्यले प्रतिष्ठित र सहज जीवन बिताउने अवसर हुँदाहुँदै किसान, मजदुर तथा उत्पीडित समुदायको हक–अधिकारका लागि सङ्घर्षको कठिन बाटो रोज्नुभएको उल्लेख गर्दै उहाँको योगदान अनुकरणीय रहेको बताउनुभयो।
कार्यक्रमका अवसरमा प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहनुभएका सहसंयोजक माधवकुमार नेपाल तथा पूर्वअध्यक्ष केशवप्रसाद बडाल लाई सम्मान गरिएको थियो।













प्रतिक्रिया दिनुहोस्