काठमाडौं, साउन १९। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी प्रवेश गरी स्थानीयले बनाएको अस्थायी तटबन्ध भत्काएको घटनाप्रति नेपाल सरकारले भारतसँग औपचारिक विरोध जनाएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतको विदेश मन्त्रालयसँग उक्त विषय उठाउँदै भारतीय सुरक्षाकर्मीको गतिविधिप्रति आपत्ति जनाएको हो।
भारतीय पक्षले भने तटबन्ध निर्माण गरिएको क्षेत्र विवादित भएकाले दुवै देशबीच कायम रहेको ‘यथास्थिति’ उल्लंघन हुने गरी नयाँ संरचना बनाउन नहुने आफ्नो अडान दोहोर्याएको बताइएको छ।
आइतबार सादा पोसाकमा आएका भारतीय सुरक्षाकर्मीले स्थानीयले बाढी नियन्त्रणका लागि बनाएको माटोको अस्थायी तटबन्ध भत्काउन थालेपछि स्थानीयवासीले विरोध गरेका थिए। त्यसक्रममा केहीबेर तनाव उत्पन्न भए पनि नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीचको समन्वयपछि अवस्था सामान्य बनेको थियो।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक नेपालका अनुसार सोमबार सुस्ता क्षेत्रको अवस्था सामान्य रहेको छ।
सुस्ता र कालापानी नेपाल–भारतबीचका प्रमुख सीमा विवादित क्षेत्र हुन्। नेपाल सरकारले नारायणी नदी किनारमा १३२ मिटर लामो स्थायी तटबन्ध निर्माणका लागि ठेक्का दिइसकेको भए पनि भारतीय पक्षको आपत्तिका कारण उक्त खण्डको निर्माण अघि बढ्न सकेको छैन।
स्थानीयका अनुसार सो क्षेत्रमा तटबन्ध नहुँदा मनसुनका बेला नारायणी नदीको कटान बढ्दै गएको छ र बाढी गाउँमा पस्ने जोखिमसमेत बढेको छ। त्यसैले बस्ती जोगाउन स्थानीयले अस्थायी माटोको तटबन्ध निर्माण गरेका थिए।













प्रतिक्रिया दिनुहोस्