काठमाडौं, साउन १९ । सिन्धुलीको सुनकोशी नदीमा सोमबार बसको ठक्करबाट कार नदीमा खस्दा तीन जना बेपत्ता भएको घटनापछि पीडित परिवार र स्थानीयवासीले राहत तथा उचित क्षतिपूर्तिको माग गर्दै मंगलबार मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका छन्।
सिन्धुलीको फिक्कल गाउँपालिकाको प्रवेशद्वारमा टायर बालेर सडक अवरुद्ध गरिएको हो। आन्दोलनकारीहरूले घटनामा बेपत्ता भएका व्यक्तिको खोजी कार्य प्रभावकारी बनाउन, पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
सोमबार मध्यपहाडी लोकमार्ग अन्तर्गत सुनकोशी नदी किनारकाे नवपुरघाट नजिकै रोकिएको कारलाई पछाडिबाट आएको बसले ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको थियो। दुर्घटनापछि कारमा सवार तीन जना नदीमा बेपत्ता भएका छन्। साेमबार बिहान करिब ११ः४५ बजे काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट खोटाङबाट खुर्कोटतर्फ जाँदै गरेको सडक विभाग यान्त्रिक कार्यालय मुलकोट, मध्यपहाडी लोकमार्गअन्तर्गत निर्माणव्यवसायीले प्रयोग गरेकाे कारलाई ठक्कर दिएको थियो। ठक्करपछि कार करिब ५० फिट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा कार चालक सिन्धुपाल्चोक निवासी करिब ३९ वर्षीय दिलकुमार लामा, स्काइभेटर चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी करिब २७/२८ वर्षीय गणेश थापा तथा हेल्पर सिन्धुलीको तीनपाटन गाउँपालिका-९ डाँडाखर्कका १७ वर्षीया सुजन बलमपाकी मगर बेपत्ता भएका छन्।
घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा खोजी तथा उद्धार कार्य सञ्चालन गरिए पनि मंगलबारसम्म उनीहरूको अवस्था खुल्न सकेको छैन।
घटनापछि आक्रोशित पीडित परिवार र स्थानीयवासीले पीडितप्रति संवेदनशीलता नदेखाएको भन्दै राहत, उचित क्षतिपूर्ति र प्रभावकारी खोजी कार्यको माग राखेर मध्यपहाडी लोकमार्ग बन्द गरेका हुन्। सडक अवरुद्ध भएपछि उक्त मार्ग हुँदै काठमाडौं र पूर्व आवतजावत गर्ने सवारीसाधन सञ्चालन प्रभावित भएको छ।













प्रतिक्रिया दिनुहोस्