जनता टाइम्स

७ पुष २०७६, सोमबार १७:०४

नक्कली घ्यू उत्पादन गर्ने उद्योगमा प्रहरीको छापा, उपत्यकासहित देशैभर सप्लाइ गरेको खुलासा


वीरगञ्ज, पुस ७ । पर्सा प्रहरीले वनस्पति घ्यूमा रसायन मिसाएर शुद्ध गाईको घ्यू भन्दै विभिन्न ब्राण्डका स्टिकर लगाएर बजारमा पठाउने गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले वीरगञ्ज –१५ लक्ष्मणवा (ब्रहमचोक) मा स्थित सिद्धिविनायक पूजा सामग्री प्रोडक्ट्स उद्योगमा छापा मारी सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको हो ।

वनस्पति घ्यूमा रसायन मिसाएर पूजा, दुर्गा र गोकुल ब्राण्डको स्टिकर लगाई बजारमा शुद्ध गाईको घ्यू भन्दै विक्री वितरण गर्ने गरेको विशेष सूचनाको आधारमा उक्त कारखानामा पर्सा प्रहरीले छापा मारेको हो । छापा मारी प्रहरीले सञ्चालकसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । पर्साका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरका अनुसार मान्छेको स्वास्थ्यमा गम्भीर असर पार्ने रसायन प्रयोग गरेर नक्कली घ्यू उत्पादन गरेको भेटिएको छ । ‘गम्भीरताका साथ अनुसन्धान शुरु गरेका छौं, मानव स्वस्थ्यमा खेलवाड गर्नेहरुमाथि कडाभन्दा कडा कारबाही हुन्छ,’ एसपी राठौरले भन्नुभयो ।

राठौरका अनुसार आइतवार अपराह्न ४ बजे प्रहरीको विशेष टोली उक्त कारखानामा पुग्दा नक्कली घ्यू उत्पादन भइरहेको थियो । प्रहरीले उक्त कारखाना सिल गरेर पूजा, दुर्गा र गोकुल नाम गरेको ब्राण्डको छ सय २४ किलो (५२ कार्टुन), वनस्पति (डाल्डा) घ्यू पाँच सय ८० किलो (२९ कार्टुन) र सो बनाउन प्रयोग हुने रसायन, भाँडाकुँडा र लेबलिङ गर्न प्रयोग हुने विभिन्न ब्राण्डको स्टिकरहरु समेत बरामद गरेको छ । प्रहरीले उद्योगका मालिक अनिल श्रेष्ठ र उनका सहयोगी वीरगञ्ज–१५ का रमेश श्रेष्ठ र भारतको बिहार मोतिहारीका रामविलास यादवलाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

एसपी राठौरका अनुसार प्रारम्भिक अनुसन्धानकै क्रममा उक्त उद्योगले देशैभर नक्कली सामान पठाएको खुलेको छ । उक्त कारखानामा उत्पादन भएको नक्कली घ्यू काठमाडौं उपत्यकालगायत नेपालका सयौं डिलरमा विक्रीवितरणका लागि पठाइएको भन्दै पक्राउ परेका अभियुक्तले बयान दिएका हुन । ‘काठमाडौंलगायत धेरै डिलरमा यहाँबाट नक्कली घ्यू सप्लाई भएको अनुसन्धानमा खुलेको छ । सप्लाइ भएको उक्त नक्कली घ्यू पनि बरामद गर्ने प्रयास गरिरहेका छौं,’ एसपी राठौरले भन्नुभयो ।