जनता टाइम्स

२० श्रावण २०८३, बुधबार ०७:३३

बाढीको जोखिमपछि जोमसोम–बेनी सडकमा राति सवारी सञ्चालन रोकियो


मुस्ताङ, साउन २० । जल तथा मौसम विज्ञान विभागले कालिगण्डकी नदीसहित मुस्ताङका साना नदी र खोलामा पानीको बहाव बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान गरेपछि जोमसोम–बेनी राष्ट्रिय राजमार्गमा मंगलबार र बुधबार रातिको समयमा सवारी सञ्चालन रोकिएको छ।

बाढी पूर्वानुमान महाशाखाको सूचनापछि जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले थप दुई दिन रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताइन्।

निर्णयअनुसार छिमेकी जिल्ला म्याग्दीसँग समन्वय गरी साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म थासाङ गाउँपालिका–४ घाँसाबाट मुस्ताङ प्रवेश गर्ने र बाहिरिने सबै सवारीसाधन रोकिनेछ। मौसमको अवस्थाअनुसार प्रतिबन्धको अवधि थप गर्न सकिने निर्णय पनि गरिएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आइतबारदेखि नै रातिको समयमा सवारी आवागमनमा कडाइ गरिएको छ। अटेर गरेर सीमा पार गर्ने सवारीसाधनमाथि कारबाहीसमेत गरिएको प्रहरीले जनाएको छ।

७६ किलोमिटर लामो जोमसोम–बेनी सडकखण्डमध्ये करिब २२ किलोमिटर क्षेत्र बाढी र पहिरोको उच्च जोखिममा रहेको छ। साथै, अन्नपूर्ण पदमार्ग हुँदै थोराङ्ला पास पार गरेर मनाङबाट मुस्ताङ आउने पर्यटकको सुरक्षाका लागि पनि स्थानीय तहसँग समन्वय भइरहेको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएपछि बाढीपहिरोका कारण हुने दुर्घटना र मानवीय क्षति न्यूनीकरण गर्न सहयोग पुगेको छ। विगतमा यही सडकखण्डमा रातिकै समयमा सवारीसाधन बाढीपहिरोमा पर्दा मानवीय क्षति हुने गरेका थिए।